स्वास्थ्य चौकीका हरेक कोठामा पानीका धारा



धनवीर दाहाल, रुकुम ।
प्रयाप्त पानी नहुँदा समस्या झेल्दै आएका स्वास्थ्य चौकीमा शुद्ध र प्रयाप्त पानीको व्यवस्था भएको छ । स्वास्थ्य चौकीका सबै कोठामा पानीको धाराको व्यवस्था भएपछि सहज भएको हो । जिल्लाको बाँफिकोट गाउँपालिका –४ मा रहेको बाँफिकोट स्वास्थ्य चौकीका सबै कोठाहरुमा धाराको व्यवस्था गरिएको छ । बिरामीको स्वास्थ्य जाँच गर्दा सरसफाईमा समेत ध्यान दिनुपर्ने भन्दै प्रत्येक कोठामा साबुनपानी सहितको धारा राखिएको हो ।

यसअघि पिउने पानीको समेत समस्या हुने यस स्वास्थ्य चौकीमा फोहोर व्यवस्थापन र सरसफाईलाई मध्यनजर गर्दै स्वच्छता परियोजना र बाँफिकोट गाउँपालिकाको सहकार्यमा शुद्ध पिउनेपानी, प्रसुतिगृह लगायत अन्य सबै कोठामा हात धुने ठाउँको उचित व्यवस्थापन गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बाँफिकोट –४ का वडाध्यक्ष लिलाराम विकले जानकारी दिनुभयो । नजिकैको समुदायमा आउने खानेपानीको लाइनबाट स्वास्थ्य चौकीमा ल्याएर क्लोरिनेशन र फिल्टर गरी सबै कोठामा पानीको वितरण गरिएको छ । स्वास्थ्य जाँच गर्नुअघि र पछि साबुनपानीले हात धुनुपर्ने सरकारी मापदण्ड भएपनि यसअघि पानीको सुविधा नहुँदा समस्या रहेको थियो ।

कोठाकोठामा पानीको व्यवस्था भएपछि सरसफाईका लागि सहज भएको स्वास्थ्य चौकीका अहेव बसन्तकुमार खड्काले बताउनुभयो । ‘पहिले पानीको समस्या हुँदा सामान्य अवस्थामा हात नधोएरै पनि विरामीको चेकजाँच गर्नुपर्दथ्यो ।’ उहाँले भन्नुभयो, ‘हात धुनैपर्ने अवस्थामा बाहिर गएर ठूलो ड्रमबाट अप्ठेरो गरी पानी निकालेर सफा गर्नुपर्ने बाध्यता थियो ।’

अहिले प्रत्येक बिरामी चेकजाँच गर्दा हात धुने गरेकोले घरमा पनि यसरी धुने बानी र व्यवहारको विकास भएको खड्काले बताउनुभयो । यहाँ आउने बिरामीले यो देखेर घरमा पनि सरसफाईमा ध्यान दिन थालेको उहाँको भनाई छ । गाउँपालिकाको सहकार्यमा स्वच्छता परियोजनाबाट यससँगै फोहोर व्यवस्थापनका लागि स्तरीय खाल्डाहरु निर्माण गरिएका छन् ।

प्रसुतिगृहबाट निस्कने फोहोरहरु सालनाल लगायतको व्यवस्थापनका लागि प्लासिन्टा पिट, ड्रेसिङ लगायतको कामबाट आउने कटन र गजपिसहरु व्यवस्थापनका लागि ब्यूरियल पिट र हात धोएको फोहोरपानीको व्यवस्थापनका लागि सोकपिट समेत निर्माण गरिएको स्वच्छता परियोजनाका जिल्ला अधिकृत बमबहादुर खड्काले बताउनुभयो ।

त्यस्तै कुहिने अन्य फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विन बनाउनुका साथै सीसा सुई जस्ता वस्तुहरुको व्यवस्थापनका लागि उपकरण सहयोग गरिएको छ । यस्ता खाल्डाहरु निर्माण हुँदा विशेषगरी सालनालको व्यवस्थापनमा सहज भएको अनमी पद्मा मल्लले जानकारी दिनुभयो । त्यस्तै प्रसुति गराउँदा छेउमै धारा हुँदा धेरै सजिलो भएको उहाँको भनाई छ ।

स्वच्छता परियोजनाको ८ लाख ९८ हजार ८ सय ८२ र बाँफिकोट गाउँपालिकाको एकलाख ८५ हजार ५ सय ७३ रुपियाँ गरी कूल १० लाख ५७ हजार एकसय ५६ रुपियाँ लगानीमा यो काम सम्पन्न भएको बताइएको छ । परियोजनाबाट यस्तै काम यस गाउँपालिका अन्तर्गतका मग्मा र झुला स्वास्थ्य चौकीमा समेत अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्