कुकुरले पहिचान गर्यो, ७ पक्राउ



बाँके । लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

प्रदेश नम्बर ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ । कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।

यस्तै नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ ।

प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ती दुवै बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागूऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्