स्वर्गद्वारी पर्यटकले भरिभराउ



प्युठान ।
प्रदेश ५ अन्तर्गत प्युठानको स्वर्गद्वारी धाम पर्यटक तथा दर्शनार्थीले भरिभराउ भएको छ । देशका विभिन्न भूभाग र भारतबाट समेत आएका पर्यटकहरुले स्वर्गद्धारी खचाखच भरिएको हो । विशेष महत्व राख्ने बैशाखे पूर्णिमाको अवसर पारी स्वर्गद्धारीमा दर्शनार्थीको भिड लागेको आश्रमले बताएको हो।

स्वर्गद्वारीमा रहेको अखण्ड महायज्ञको १२४ औँ वर्ष पूरा भएको अवसरमा स्वर्गद्वारीमा दर्शनार्थीहरु ओईरिएका हुन ।उसो त मन्दिरको दर्शन गरे स्वर्ग पुगिने बिश्वासमा यहाँ बाह्रै महिना दर्शनार्थीहरुको लर्को लाग्ने गर्छ ।स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरी अधिकारीले यस वर्षको पुर्णिमामा दुई दिनमा २५ हजार पर्यटकले स्वर्गद्वारीको अबलोकन एवं दर्शन गरेको जानकारी दिनुभयो। गत वर्षभन्दा यो वर्ष ४ हजार बढी पर्यटक स्वर्गद्वारी भित्रिएको उहाको भनाइ छ।

वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँच पाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहदै आएको छ ।

रोल्पाको रूम्टीगढी गाउँपालिका रूम्टीगढीका वालतपस्वी नारायण गौतम (तपस्यापछि हसांनन्द गिरी) ले वि.स. १९५२ को बैशाखे पुर्णिमामा यज्ञ लगाएको थिए। त्यो आजसम्म अखण्ड रूपमा बलिरहेको छ। यहि अखण्ड महायज्ञ लगाएको बैशाखे पुर्णिमाको अवसर पारी स्वर्गद्वारीमा दर्शनार्थी तथा पर्यटकहरू जाने गर्छन।बिशेष गरेर स्वर्गद्धारीमा बैशाखेपूर्णिमा, गाइतिहार, औशी, वडादशै, माघेसक्रान्ती लगाएतका पर्वहरुमा दर्शनार्थीको बढी घुइचो लाग्ने गरेको पाइन्छ ।

यहाँको पूजापाठ तथा मठमन्दिरको अवलोकन गरेमा मनको आकाक्षाँ पूरा हुने बिश्वास गरिन्छ। पर्यटकका लागि ऐतिहासिक मनोरम तलाउ,पाच पाण्डव स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गर्ने गुफा,बिस १९५२ साल देखि सँचालनमा आएको वेदपाठशाला,गोवद्र्धन पहाड,आश्रममा पालिएका गाइ,बिभिन्न मठ मन्दिर,आश्रमको भूभागमा रहेको ठूलो बाझको बृक्ष दर्शनार्थीका लागि मुख्य आकर्षण हुन।

स्वर्गद्वारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपानेले जानकारी दिनुभयो ।समुन्द्री सतहदेखि करिव दुई हजार एक सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारी विभिन्न सात धाम मध्ये एक धाम पनि हो ।

प्रतिक्रिया दिनुहोस्