एक सय २३ पसलमा अनुगमन, अधिकांश पसल विना दर्ता सञ्चालनमा



म्याग्दी ।
हिमाली जिल्ला म्याग्दीका ६ ओटा स्थानीय तहका १ सय २३ ओटा पसलहरुमा सोमबार बजार अनुगमन भएको छ । संयुक्त बजार अनुगमन समितिको जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले गरेको निर्णय अनुसार जिल्लाका ६ ओटै स्थानीय तहमा पुगेर बजार अनुगमन गरिएको हो ।

अनुगमन गरिएका पसलहरुमध्ये अधिकांश पसलहरु दर्ता नगरीकनै सञ्चालन गरिएको पाइएको छ । यसैगरी पसल सञ्चालन गरेपनि मुल्यसुची नटाँसिएको, अपडेट नगरिएको, नवीकरण नभएको, म्याद नाघेका खाद्यान्न सामाग्रीहरु बिक्रीवितरण गरिएको, एकै ठाउँमा डेरी, किराना पसल सञ्चालन गरिएको जस्ता कमजोरीहरु पाइएको अनुगमन टोलीले जनाएका छन् । टोलीले बेनीबजारमा २८, मंगलामा २९, मालिकामा १९, धौलागिरीमा १२, रघुगंगामा १६ र अन्नपूर्णमा १९ ओटा पसलमा अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी र स्थानीय तहको समन्वयमा स्थानीय तहका केन्द्रमा सञ्चालित मुख्य बजारहरुमा अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ । बेनीबजारमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिकामा प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, रघुगंगामा स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्य, मंगलामा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत सरिता गौतम, मालिकामा जिल्ला कारागार कार्यालय प्रमुख राजेन्द्र शर्मा र धौलागिरीमा कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाको नेतृत्वमा स्थानीय जनप्रतिनिधिसहित बजार अनुगमन गरिएको थियो ।

बेनीबजारमा दुईवटा टोलीमार्फत पसलहरुको अनुगमन गरिएको थियो । मुख्य बजारहरुमा सञ्चालनमा रहेका खाद्यान्न, मासु, तरकारी, होटल, एग्रोभेट, हार्डवयर, फेन्सी र कस्मेटिक पसलमा अनुगमन गरिएको जनाइएको छ ।

पेशा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर नियमित एवं आकस्मिक गरी दुईवटा बजार अनुगमनका कार्यक्रमलाई अगाडि सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । अब हरेक महिनाको पहिलो सोमबार नियमित रुपमा बजार अनुगमन गरिने बताउँदै प्रजिअ अधिकारीले आवश्यकता अनुसार आकस्मिक रुपमा पनि अनुगमन गरिने जानकारी दिएका छन् ।

म्याग्दी सदरमुकाम बेनीबजारमा यसअघि पनि पटकपटक अनुगमन गरिएको भए पनि जिल्लाका अन्य स्थानीय तहमा सञ्चालित पसलहरुको भने पहिलोपटक अनुगमन गरिएको छ । स्थानीय तहमा सञ्चालनमा रहेका अधिकांश पसलहरु दर्ता नगरीकनै सञ्चालन भएको हुँदा नियम अनुसार दर्ता हुन, पसलमा मुल्यसुची टाँस्न र म्याद गुज्रिएका सामानलाई अलग्गै छुट्याएर व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्