तलबभत्ता नपाएपछी क्याम्पसमा तालाबन्दी



विनोद सिंह विष्ट, बैतडी ।
गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा सोमवारदेखि अनिश्चितकालिन रुपमा तालाबन्दी गरिएको छ । क्याम्पसका शिक्षक कर्मचारीहरुले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दा तालाबन्दी गरेका हुन् ।

वि स २०७५ साल साउनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको उक्त क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीले हालसम्म पनि तलबभत्ता नपाएको गुनासो गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र क्याम्पसबिच भएको समायोजन सम्झौताअनुसार तलबभत्ता तथा सेवासुविधा दिनुपर्ने उनीहरुको माग रहेको छ ।

यसअघि पनि पटक पटक विश्वविद्यालय प्रसासनमा तलबभत्ताको माग गर्दा समेत कुनै सुनुवाई नभएपछी तालाबन्दी गर्न बाध्य भएका गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक धनसिंह विष्टले बताउनुभयो ।

समायोजन सम्झौताअनुसार स्थाई नियुक्ती भएअुनसार नै तलबभत्ता तथा सेवासुविधा पाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले नियुक्त सेवा आयोगवाट अनुमोदन नहुँदासम्म अस्थाई सेवा सुविधा दिने चलखेल सुरु भएकोले त्यसका विरुद्ध आन्दोलित हुनुपरेको उक्त क्याम्पसका अर्का उप प्राध्यापक कबिराज जोशीको भनाई रहेको छ ।

क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीको नियुक्ती अनुसारको तलबभत्ताको सुनिश्चितता ,समायोजनमा प्रभावित र समायोजन हुन नसकेका शिक्षकहरुको माग सम्बोधन नहुँदसम्म तालाबन्दी नखुल्ने समेत उनीहरुले बताएका छन् ।

क्याम्पसमा तालाबन्दी गरी उपप्राध्यापक तथा कर्मचारी आन्दोलित भएपछी पठनपाठन कार्य समेत ठप्प रहेको छ । क्याम्पसमा तालाबन्दी हुदा यही जेठ १० गतेदेखि सञ्चालन हुने स्तातक तह तेस्रो बर्षको परिक्षा समेत प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्