सुभद्राको फाउन्डेसनले गर्यो सम्मान



अभिनेतृ शुभद्रा अधिकारीद्वारा सञ्चालित सुभद्रा अधिकारी फाउन्डेसनले शनिबार राजधानीमा एक समारोह आयोजना गरी कला तथा साहित्य क्षेत्रका विभिन्न ४ व्यक्तित्वलाई सम्मान गरेको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित फाउन्डेसनको सातौं वार्षिकोत्सव कार्यक्रमका बीच अभिनेतृ बसुन्धरा भुसाल, नृत्यांगना एवं प्राध्यापक हनी श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ तथा समाजसेवी एवं हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई जनही १५ हजार ५ रुपियाँ नगदसहित सम्मान गरिएको हो। प्रमुख अतिथि साहित्यकार एवं फिल्मकर्मी चेतन कार्कीले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, पति स्व. कृष्णप्रसाद अधिकारी र गुरु बद्री उस्तादलाई समर्पण गर्दै २०६८ सालमा फाउन्डेसनको स्थापना गरेकी थिइन्।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि चेतन कार्कीले कलाकर्मीलाई सम्मान गर्न पाउँदा खुसी लागेको जनाउँदै सम्मानित व्यक्तित्वहरूलाई बधाइ दिएका थिए। कार्यक्रममा बोल्दै सुभद्रा पुत्र तथा फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका सभापति सुनील अधिकारीले आफ्नी हजुर आमाकै नाममा गरिएको सम्मान कार्यक्रमका दिन हजुरआमाको जन्मदिन पनि परेका कारण निकै खुसी लागेको बताए।

अभिनेतृ बसुन्धरा भुषालले आफूलाई कलाकारितामा आउन प्रेरणा दिने स्व. कृष्णप्रसाद अधिकारीकै नाममा सम्मान पाउँदा आफूलाई खुसी लागेको बताइन्। कार्यक्रम अभिनेता, लेखक तथा निर्देशक मोहन निरौलाले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्