उपन्याससँगै ३ एल्बम सार्वजनिक



गीति साहित्य विधामा एकैपटक ७ गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गरेका गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक गरिएको छ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा डा. उपाध्यायको अधुरो प्रेम उपन्यास र तीन गीति एल्बम परिस्कृत, कृति र पृथक सार्वजनिक गरिएको हो। वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जोशीलाई ५१ हजार रुपियाँसहित सम्मान गरियो।

डा. उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका थिए।

उनलाई आइतबार पनि चार एभरेस्ट वल्र्ड रेकर्डका साथै हिरो २०१९ बाट सम्मान गरिएको छ। आज उनले प्राप्त गरेका चार एभेरस्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ वटा शब्द र, रा, रि र रु समावेश भएको गीतमा, ३ सय ७५ लोकबाजा समावेश भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बममा विभिन्न ८ ताल समावेश एल्बमको वल्र्ड रेकर्ड र एउटै गीतमा ८ विट समावेश गरी तयार परिएको गीतमा रहेका छन्। उनलाई एभरेस्ट वल्र्ड रकेर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए।

एल्बममा समावेश गीतको भिडियो सार्वजनिक गरिएको कार्यक्रममा गायक तथा संगीतकार सागर अधिकारी ‘सरद’, दिलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए।

एल्बममा संगृहित गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको संगीत रहेको छ भने सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपीन घिमिरे, दिलीप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समीर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाले गीत गाएका छन्।

कार्यक्रममा सुरेश घिमिरे ‘निश्चिन्त’ को मित्रताको सुर्किनी पुस्तक पनि विमोचन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्