जनवादी गायक शर्माले गाउँदा नाचे वृद्धवृद्धा



सिर्जना पन्त, बागलुङ ।
सर्वहारा जनताको गीत गाएर लोकप्रियता कमाएका गायक हुन् जीवन शर्मा। आज पनि गाउँगाउँमा हुने मेला र महोत्सवमा जीवन शर्मा आउँदै छन् भनेपछि लठ्ठी टेकेर आउने वृद्धवृद्धादेखि घरधन्दा छोडेर जाने युवायुवती र वयस्कको समेत कमी हुँदैन।

वैशाख ३१ गतेदेखि बागलुङको काठेखोला गाउँपालिका–७ रेश नुन्थला माध्यमिक विद्यालयमा शुरू भएको शैक्षिक महोत्सवमा पनि यी जनवादी गायक आउँदै छन् भन्ने सुनेपछि हालै युवायुवतीदेखि ९० वर्षसम्मका वृद्धवृद्धा कार्यक्रमस्थलमा पुगे। बागलुङको बरेङ गाउँपालिकाको राङखानीमा जन्मिएका गायक शर्मा मधेशी पहाडी, हिमालका हिमाली, सयौं जाति, जनजाति हामी सबै नेपाली भन्दै स्टेज चढेपछि कार्यक्रमस्थलमा पुगेका दर्शकले शर्मासँगै हामी सबै नेपाली भाकामा भाका मिलाए।

गीतको बीचबीचमा आफू जन्मँदै सर्वहारा नभएर सर्वहाराको गीत गाउँदा गाउँदै सर्वहारा बनेको बताएका शर्माले आफूले गाउने गीतहरू अरुका लागि मात्र नभएर आफ्ना लागि पनि भएको जनाए।

छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरि पसिनाको गन्ध, होला मेरो खुट्टा बरु पटपटी फुटेको तर मेरो जिन्दगी यसैमा उठेको भन्दै शर्माले दोस्रो गीत गाउन थालेपछि शर्माको गीत सुन्न शैक्षिक महोत्सवमा पुगेका सबैले आ–आफ्नो ठाउँबाट उठेर शर्मासँगै गीत गाए। राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सेनाको प्रमुख आतिथ्यता र प्रतिनिधि सभा सांसद सूर्य पाठकको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा शर्माले चाहिँदैन मलाई सिसाको महल, चाहिँदैन मलाई सम्पत्तिको रास भन्दै राष्ट्र र राष्ट्रियताको रक्षासँगै जनतासमक्ष गरेका बाचा पूरा गर्न आग्रहसमेत गरे।

शर्माले महोत्सवमा गीत मात्र गाएनन्, कम्युनिस्टको सरकार आएपछि जेष्ठ नागरिकलाई खोजी खोजी मार्छ भन्थे खोइ यहाँ त कम्युनिस्टको सरकार आएको २ वर्ष बितिसक्यो सबैलाई जिवित नै देख्छु भन्दै व्यंग्यसमेत गरे। महोत्सवमा शर्माले सिमली छायाँमा बसी भरिया लामो सास फेरेको गीत गाउन थालेपछि जेष्ठ नागरिकहरू मञ्चमै पुगेर नाचेका थिए।

प्रतिक्रिया दिनुहोस्