विद्यालयस्तरीय भलिबल हुने



काठमाडौं, (नेस)
दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ८ गतेदेखि ११ गतेसम्म हुन लागेको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए ।

मदन मण्डारी स्पोर्ट्स् एकेडेमीले गत वर्षदेखि नेपालको राष्ट्रिय खेल भलिबल भएको दिनलाई ‘भलिबल डे’ को रुपमा मनाउदै अन्तर विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिन लागेको आयोजकले जानकारी गराएको छ । दुई वर्षअघि नेपाल सरकारले जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

प्रतियोगितामा १० विद्यालयको सहभागिता रहनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिता लिग र क्वाटरफाइनलका खेलहरु वेस्ट अफ थ्री का आधारमा खेलाइनेछ । सेमिफाइनल र फाइनल वेस्ट अफ फाइभको आधारमा हुनेछ । नेपाल भलिबल संघको तत्वावधानमा हुने प्रतियोगिता चन्द्रागिरी नगरपालिकास्थित न्यु डायमण्ड एकेडेमीको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ६० हजार नगद तथा दोस्रो र तेस्रो हुनेले पनि क्रमशः ३० हजार, १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया र ट्रफीको व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताको अनुमानित लागत २ लाख ५५ हजार रहेको छ । भलिबल दिवसका क्रममा कुनै एक विभागीय टोली र न्यु डायमण्ड एकेडेमीबीच खेल हुने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्