रोनाल्डो बने मोस्ट भ्यालुएबल



लन्डन, (एजेन्सी)
पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यस सिजनको इटालियन सिरी ए का मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् ।

यसपटक यूभेन्ट्सलाई सिरी ए च्याम्पियन बनाउन रोनाल्डोले २२ गोल गरे भने २२ गोलको लागि पनि पास उपलब्ध गराएका थिए . सन् २०१८ मा रियल मेड्रिडबाट यूभेन्ट्स पुगेको पहिलो सिजन नै उनले आफ्नो टोलीलाई लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका हुन् । यस सिजनको सिरी ए मा उनको योगदान महत्वपूर्ण रहे पनि यूएफा च्याम्पियन्स लिगमा भने उनको टोली डच क्लब आयाक्ससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । रोनाल्डो मोस्ट भ्यालुएबल घोषित भएको सिजन यूभेन्ट्सका प्रशिक्षक मासिमिदिनो एलेग्रीले भने क्लबबाट विदा लिएका छन् ।

यसैगरी इन्टर मिलानका समीर हानडनोभिच यस सिजनको सिरी ए को उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यसैगरी यस सिजन उत्कृष्ट डिफेन्डर नेपोलीका कालीडोउ काउलीबेली, उत्कृष्ट मिडफिल्डर लाजियोका सर्गे मिलिनकोभिच, उत्कृष्ट फरवार्ड साम्पोडोरियाका फाबियो क्वागिलीएरा र उत्कृष्ट युवा खेलाडी रोमाका निकोलो जानियोलो घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्