सत्र वर्षपछि मोटरसाइकल नचलाउनेलाई हेलमेट लगाइदिने तयारी



मधुसूदन रायमाझी, काठमाडौं
मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम शुरु गर्न लागेको छ ।

यस्तै नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो ।
काठमाडौ उपत्यकामा मोटरसाइकलको संख्या मात्र ९ लाख पुगेको छ । उपत्यकामा दैनिक रुपमा सञ्चालन हुने १२ लाख सवारीसाधनमध्ये मोटरसाइकलको संख्या मात्र ९ लाखभन्दा बढी पुगेको हो । ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले उपत्यकामा ९ लाखभन्दा बढी मोटरसाइकल सञ्चालन हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम प्रस्ताव गरेर विभागलाई पठाउन लागेका छौं ।’

तत्कालीन सरकारले २०५९ सालमा हेलमेट लगाउने नियम लागू गरेको थियो । तर उक्त निर्णयको विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पुनः पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय भएको थियो । १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले विगतमा पनि लागू गर्ने अभ्यास असफल भएकाले पुनः कार्यान्वय हुनेमा आशंका रहेको बताउनुभयो । ‘उपत्यमा अत्यधिक रुपमा गुडाउने सडक नै छैन, चालक जिम्मेवार बन्ने विषय हो, यातायात व्यवस्था ऐनमा नै हेलमेट लगाउनुपर्ने कुरा उल्लेख गर्न जरुरी छैन’ –उहाँले भन्नुभयो ।

-उपत्यकामा ९ लाख मोटरसाइकल
-१४ वर्षपछि पुरानै नियम फर्काउने तयारी

काठमाडौँमा हुने दुईपांग्रे सवारीसाधनको दुर्घटनालाई विश्लेषण गर्दा हेलमेट लगाएको चालकभन्दा पछाडि बस्ने व्यक्ति घाइते भएको र मृत्यु दरसमेत पछाडि बस्नेको बढी भएकोले मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो । आइतवार पत्रकार सम्मेलन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

विगतमा पनि महाशाखाले दुवै जनाले हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गरेको थियो । तर ऐनविनै दुई हेलमेटको नियम ल्याएको भन्दै विरोध भएपछि महाशाखा उक्त व्यवस्था हटाउन बाँध्य भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार उपत्यकामा हाल दैनिक ९ लाखभन्दा बढी मोटरसाइकल गुड्छन् । महाशाखाले तत्कालीन बागमती यातायात कार्यालयमा १० लाख र प्रदेश नम्बर ३ को यातायात कार्यालयमा ३० हजारभन्दा बढी मोटरसाइकल दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्