गजुरीमा बस दुर्घटना, ८ को मृत्यु



सीताराम अधिकारी, धादिङ
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवहाक बस हिजो आइतबार बिहान धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हनेको संख्या ८ पुगेको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, काठमाडौ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका अन्यमा प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुभयो । यसबाहेक अन्य दुई जनाको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पतालमा र काठमाडौं ट्रमा सेन्टर, मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेका २१ मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । यसै गरीमेडिसिटीमा ४ जनाको उपचार भइरहेको छ ।

ना७ख ४३८७ नम्बरको बस उकालो बाटोमा सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र गाउँबासीले उद्धार गरेका थिए ।

चालकको लापबाहीले दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।दुर्घघटनास्थल पुग्नुभन्दा केही बेर अगाडि यात्रुबसमा तेल हालेपछि चालक परिवर्तन गरिएको झापाबाट आउनुभएका यात्रु फणीन्द्र कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्