मृत्यु भएको पाँच दिनपछि दाह संस्कार



विनोद सिंह विष्ट, बैतडी ।
मृत्यु भएको ५ दिन पछि बैतडीको मेलौली नगरपालिका ७ बनालीकी १९ बर्षीया किशोरी सावित्री चन्दको आइतवार दाह संस्कार गरिएको छ । गएको बुधबार राती घर नजिकैको मेल रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो ।

प्रहरीले सावित्रीको कोठामा खानतलासी गर्दा मेलौली नगरपालिका १ प्रशान्तसिंह क्षेत्रीको पर्स भित्र नागरिकता,फोटो र १० हजार रुपैया फेला पारेको थियो । त्यसपछि सावित्रीका आफन्तहरुले सावित्रीलाई आत्महत्या गर्न बाध्य बनाउनेलाई कडा कानुनी कारवाही माग गर्दै शवको दाह संस्कार गर्न मानेका थिएन् ।

सावित्रीका बुवा मदनबहादुर चन्दले क्षेत्रीको नाममा जबरजस्तीकरणी र दुरुत्साहन मुद्दा दर्ता गरेका थिए । प्रहरीले सोही किटानी जाहेरीको आधारमा क्षेत्रीलाई पक्राउ गरी उनीमाथि अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

आज पनि अदालतले १० दिन म्याद थपेर अनुन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । मृतक किशोरीको भजाइनल स्वाब, उनले लगाएका लुगा र भिसेरा रिपोट परीक्षण लागि केन्द्रिय विधि विज्ञान प्रयोगशालामा पठाईएको उहाँले बताउनुभयो ।

किटानी जाहेरी दिएपछि कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढीरहेकाले आफन्तहरुले शव बुझेर आज दाह संस्कार गरेको स्थानीय केशवसिंह भाटले जानकारी दिनुभयो । यसअघि सावित्रीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्