‘यलम्बर सङ्गीत प्रतियोगिता–२०७६’ जेठ–१५ देखि



रामधन राई, खोटाङ ।
सामाजिक जागरण र संस्कृति संरक्षणका लागि आयोजना हुँदै आएको ‘यलम्बर सङ्गीत प्रतियोगिता’को पाँचौं श्रृंखला आगामी जेठ १५ गतेबाट सुरु हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले उपत्यकामा बर्षेनी आयोजना गर्दै आएको गायन प्रतियोगिता अन्तर्गत यो बर्षको प्ररम्भिक छनौट उक्त दिन हुने भएको हो ।

यलम्बर सङ्गीत प्रतियोगितामा सहभागी हुने प्रतिभाले किराती जागरणका गीतहरु मात्र गाउन पाउने ब्यवस्था गरिएको छ । प्रारम्भिक चरणबाट छनौट हुने उत्कृष्ट दश प्रतिभालाई किराती इतिहास, भाषा, संस्कृति आदिको विषयमा प्रशिक्षण दिएर अन्तिम प्रतिस्पर्धाका लागि योग्य बनाईने संघका केन्द्रीय सदस्य पदम थुलुङ राईले जनाउनुभयो । उत्कृष्ट दशलाई किराती ऐतिहासिक स्थलहरुको भ्रमण, स्थलगत अध्ययन तथा अवलोकन समेत गराईले राईको भनाई छ ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्तवना हुन सफल प्रतिभालाई क्रमश ः २५ हजार ५ सय २५ रुपैंयाँ, ८ हजार ८ सय ८८ रुपैंयाँ, ५ हजार ५ सय ५५ र ३ हजार ३ सय ३३ रुपैंयाँ नगद सहित प्रमाणपत्र, मायाँको चिनो र बिभिन्न उपहार पुरस्कार स्वरुप प्रदान गरिन्छ । प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाका लागि भने किराती भावको एक गीत गाउने अवसर समेत दिईने कलाकार संघले उल्लेख गरेको छ ।

यो बर्षको प्रतियोगिताको लागि फारम बुझाउने अन्तिम मिति जेठ–१४ गतेसम्मका लागि तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो श्रृंखलाहरुमा गायक सागर संसार राईले उपाधी जितेका थिए र। त्यसपछि क्रमश निश्चल राई, नम्रता राई र गत बर्ष सोनाम राईले यलम्बर सङ्गीतको उपाधी जितिसकेका छन् ।

यलम्बर सङ्गीतको उपाधी जितेर आउने प्रतिभा हाल स्थापित गायक–गायिकाका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्