बैतडी जीप दुर्घटना अपडेटः मृतक सबैको सनाखत



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा आइतवार जिप दुर्घटनामा परी मृत्यु भएका सबै ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटका ४५ बर्षीय हिराबल्लभ भट्ट,६५ बर्षीया नरुली भट्ट र ६० बर्षीय लालमणी भट्ट रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका १० का ४५ बर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भिमदत्तनगरका २६ बर्षीय राहुल भट्ट र जिपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट रहेका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतवार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो । घरबाट देवताल मन्दिर दर्शनका लागी हिडेका उनीहरु बिच बाटोमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

जिप सडकवाट १५० मिटर तल खसेको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन् । जिपमा ६ जना मात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्