दुई सय रोपनी बाँझै जग्गा खेतीयोग्य हुने



विदुर ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ । सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमी पानीको अभावले बाँझै रहेको थिए । सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ सञ्चालनमा आउन लागेको हो ।

हाल आयोजनामा करीब २० लाख खर्च भने भइसकेको विदुर –४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो । “ हाम्रो यस ४ नम्बर वडामा पानीको दुःख थियो, पिउनलाई पनि पानी अभाव नै थियो भने अब खेतीपाती लगाउनलाई त सोच्नै सकिएन । त्यस समस्यालाई नै मध्यनजर गर्दै सिंचाइका लागि केन्द्रीय बजेटमार्फत भए पनि नागरिकलाई पानीको व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा राखेर नै यो कामको थालनी गरेका हौँ ”, उहाँले भन्नुभयो ।

करीब दुई सय रोपनी जग्गा बाँझो रहेकामा अब आयोजनाको काम २०७६ को पहिलो चौमासिकमै सकिने उद्देश्य भएको जनाइएको छ । वडा कार्यालय–४ का अनुसार आयोजनामा पानी जम्मा गर्ने ओभरहेड ट्यांकी स्थापना, पाइप लाइन विस्तारलगायत काम रहेको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्