सरकारी योजनाको खानेपानीमा विभेदः २२ घरमध्ये ४ घर लाभान्वित, वडाध्यक्ष भन्छन्–‘मलाई फसाईयो हजुर’



रामधन राई, खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित बालम्बारीमा सरकारी योजनाको खानेपानीमा विभेद भएको छ । २२ घरधुरी रहेको उक्त स्थानमा चार घरधुरीले आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी पिइरहेका छन् भने अन्य १८ घर परिवारलाई वञ्चित गरिएको छ ।

विभेदमा परेका १८ घर परिवार मध्येका एक सदस्यले आफूहरुले पानी माग्दा ‘हामीलाई मात्र आएको’ भन्दै नदिएको गुनासो गरेका छन् । ‘सरकारी बजेट सही सदुपयोग हुनपर्यो, १८ घर परिवार वञ्चित हुने चार परिवारले मनोमानी गर्ने भएन’ पीडित यसरी गुनासो गर्छन् ।

बिभेदमा परेका घरका सदस्यका अनुसार चार घर परिवार मिलेर ‘बालम्बारी खानेपानी योजना’ नामक उपभोक्ता समिति गठन गरेका थिए । उनीहरूले पुरै गाउँको सहमतिमा समिति गठन भएको भन्दै वडाध्यक्ष भलाराज राईलाई नगरपालिका समक्ष सिफारिस गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षले पनि सिफारिस गरेको पाइएको छ ।

तर, समितिमा भने चार परिवारका नातागोता मात्र राखिएको पाइएको छ । गाउँको सहमति पनि नगरेको र योजना ल्याएपछि पानी खान पिउन पनि नदिएको गुनासो आएको छ । वडा अध्यक्ष भलराज राईले आफूले खानेपानीमा विवाद रहेको र मिलाउन पहल गर्दा नसकेको बताउनुभयो ।

‘उहाँहरुले उपभोक्ता समिति गठन गरेर आउनुभयो, मैले त गाउँ मिलेर नै होला भनेर नगरपालिकामा सिफारिस गरे, तर पछि बजेट निकासापछि मात्र थाहा पाएँ ।’ वडाध्यक्ष राईले भन्नुभयो– ‘गैरकानुनी ढंगले समिति गठन गर्नुभएको छ, मलाई यसमा फसाइयो हजुर ।’ वडाध्यक्ष राईले आफूले मिलाउन पहल गर्दा नसकेपछि न्यायिक समितिमा सिफारिस गरेको जनाउनुभयो ।

सब इन्जिनियर अग्निराज राईले तयार पारेको लागत रकम अनुसार खानेपानी योजनाको लागत १० लाख ९५ हजार २ सय ५ राखिएको छ । त्यसमा नगरपालिकाबाट ८ लाख ८८ हजार ६ सय ५४ रहेको छ भने लाभग्राहीबाट २ लाख ६ हजार ५ सय ५० राखिएको छ ।

नगरपालिकाले बजेट किस्तामा उपलब्ध गराउनुपर्नेमा एकैचोटी रकम उपलब्ध गराएको स्रोतको भनाई छ । विवाद सिर्जना हुनुमा नगरपालिकाको उच्च नेतृत्व पनि संलग्न रहेको स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्