मिडिया काउन्सिल विधेयकको देशव्यापी विरोध, मोरङका पत्रकार आँशु झार्दे रोए



सरोज यादव, विराटनगर ।
संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् ।

आइतबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय परिसर मोरङमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु आँशु झार्दे रोएका हुन ।

समाचार लेखेको कारण नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने प्रावधान अघि सारेसँगै देशभरका पत्रकारहरु आन्दोलित हुदै आएका छन् ।

विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताउनुभयो । त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले विधेयक कार्यान्वलमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गर्नुभयो । सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए ।

विरोध कार्यक्रममा नागरिक समाज लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्