राजपामा भोलिबाट झा संयोजक



गंगा बराल, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारबाट अनिलकुमार झाले पाउनुहुने भएको छ ।

चक्रीय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक बन्ने क्रममा झाको पालो आएको हो । अन्तिममा राजकिशोर झा अध्यक्ष बन्नुहुने छ । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव संयोजक भइसक्नुभएको छ ।

शरतसिंह भण्डारीको २ महिने कार्याकाल सोमबारबाट सकिँदैछ । २०७४ साल बैशाख ७ गते पार्टी एकता हुँदा २/२ महिनामा संयोजक परिवर्तन गर्ने सहमति भएको थियो । तर सबैभन्दा पहिले अध्यक्ष बन्नुभएका महन्थ ठाकुरले २०७५ मंसिर ६ गतेमात्र अध्यक्ष मण्डलको संयोजक छोडेपछि महतो संयोजक बन्नुभएको थियो । ठाकुर एक्लै १८ महिना संयोजक बन्नुभयो ।

राजपाले गत बैशाख ७ गते एकताको महाधिवेशन गर्ने भनेपनि अर्को एक वर्षलाई महाधिवेशनको समय थपेको छ । अहिले अध्यक्ष मण्डलमा ६ जना नेता छन् जसमध्ये १ अध्यक्ष र अरु अध्यक्ष मण्डलका सदस्य रहने व्यवस्था छ । एकतापछि १ मात्र अध्यक्ष रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्