नेकपा सचिवालय बैठक एक्कासी स्थगित



नेपाल समाचारपत्र, काठमाडौं ।
आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको सचिवलायले जनाएको छ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य विभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको छ । ‘आज सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्यविभागबारे छलफल गर्ने निर्णय भएको थियो’ नेकपाका एक नेताले भने, ‘तर अन्तिम समयमा आएर अनिश्तिकालका लागि बैठक स्थगित भएको छ । अब बैठक कहिले बस्छ, त्यो जानकारी छैन ।’

पछिल्लो समय तत्कालीन दुवै पार्टीबाट पोलिटव्युरो सदस्यमा पर्ने नेताहरुको नामावलीमा विवाद भएपछि दुवै पक्षले नामावली टुंगो लगाउन सकेका छैनन् । अहिले दुवै पक्षका शीर्ष नेता पोलिटब्यूरो सदस्यको नामावली टुंग्यो लगाउने गृहकार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्