चीनको परेडमा नेपालको मारुनी



चीनको चर्चित वर्ड नेस्ट ओलम्पिक स्टेडियमको ग्रिनपार्क नेपाली संस्कृतिमय बन्न पुगेको छ। मारुनी नाचदेखि तामाङ सेलो नृत्यसम्मको नृत्यले नेपालीपनको प्रवद्र्धन गर्दै गरेको बेइजिङबाट नेपाल समाचारपत्रका सहयोगीले जानकारी गराएका छन्।

राजधानी बेइजिङमा जारी कन्फ्रेन्स अन डायलग अफ एसियन सिभिलाइजेसनअन्तर्गत आयोजित एसियन सिभिलाइजन परेडमा विभिन्न १७ एसियाली मुलुकसँगै नेपाली कलाकार पनि सहभागी भएका हुन्।

एक साता चल्ने परेडमा मारुनी, तामाङ सेलो, थारू, कौरा, गुरुङ नाच, धिमे, टप्पा र सन्थाल नृत्य समेटेर ३० जना कलाकारले सामँहिक प्रस्तुत दिइरहेका छन्। कुमारीको भेषमा सजिएकी कलाकारले नेतृत्व गरेको टोलीमा धरानबाट थारू र मारुनी नृत्य, काभ्र्रेस्थित सेलो थिएटरबाट तामाङ सेलो, भक्तपुरस्थित नेपाल सांस्कृतिक उत्थान परिषद्बाट कुमारी, धिमे र सन्थाल नृत्य, पोखरास्थित हिमाली सांस्कृतिक परिवारबाट कौरा र गुरुङ नाच छानिएका छन्। उनीहरूले गायक दीपक वज्राचार्यले विभिन्न लोकबाजा समेटर तयार पारेको मन मगनको संगीतको थिममा डान्स स्टेप मिसाएर सामूहिक प्रस्तुति तयार पारेका हुन्।


बर्ड नेस्ट स्टेडियमको मुख्य भाग अघिल्तिर ओलम्पिक ग्रिनपार्कको एक किमि दँरीमा प्रस्तुति दिँदा नेपाली कलाकारले झन्डै आधा घन्टा समय नाच्दै बिताइरहेका छन्। मुख्य स्टेज पुग्नुभन्दा अगाडिको समय डम्फु र खैंचडीसहितको प्रत्यक्ष बाध्यवादन भए पनि मुख्य स्टेजमा भने बडी ल्याङ्ग्वेज र डान्स स्टेपमार्फत विभिन्न नेपाली समुदायको लोकसंगीत परम्परालाई कलाकारले प्रस्तुत गरिरहेका छन्। परेडको शुभारम्भपछि बंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेबनान, रुस हुँदै मैदानमा नेपाली कलाकार देखिएका थिए। यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो। चार्मिङ एसियाअन्तर्गत यी मुलुकको प्रस्तुतिपछि चार्मिङ चाइनाअन्तर्गत भित्री मंगोलिया, तिब्बत, युन्नानलगायत एक दर्जन चिनियाँ प्रान्तका कलाकारको प्रस्तुति पनि नियमित भइरहेका छन्।

नेपाली टोलीबाट गुरुङ र कौडा नृत्यको युवराज गुरुङले, तामाङ सेलोको सुशन लामाले, थारू र मारुनीको प्रशान्त तामाङले, नेवारी र कुमारीको बालमुकुन्द प्रजापतिले संयोजन गरिरहेका छन्। यी टोलीको मुख्य संयोजन वल्र्ड कल्चर नेटले गरेको हो। दक्षिण एसियालीस्तरमा नेपालले पहिलोपटक सांस्कृतिक परेड गरेको वल्र्ड कल्चर नेटका अध्यक्ष दीपक सरकारले दाबी गरे। सेलो टोलीको संयोजन गरेका सुशन लामाले भोट वर्मेली भाषा र संस्कृतिसँग तामाङ समुदाय नजिक रहे पनि चीनमा पहिलोपटक सेलो प्रस्तुति हुन सकेकोमा गर्व लागेको बताए। त्यस्तै मारुनी र थारू नृत्यको संयोजन गरेका प्रशान्त तामाङले अरू भारत र बंगलादेशको प्रस्तुतिको तुलनामा नेपाली प्रस्तुतिमा सांस्कृतिक विविधता झल्किएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्