पीडामा पनि जेसनको शतक



लन्डन, (एजेन्सी)
पीडामा पनि जेसन रायले शतक प्रहार गर्दा इंग्ल्यान्डले पाकिस्तानविरुद्धको ५ खेलको वानडे सिरिज आफ्नो नाममा गरेको छ ।

३–० को अग्रतासँगै इंग्ल्यान्डले एक खेल बाँकी राख्दै सिरिज हात पारेको हो । पाकिस्तानले ठूलै चुनौती पेश गरेपनि जेसन राय र बेन स्टोक्सले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्डको जित भयो । यसमा जेसनसँग भावनात्मक कुरा पनि जोडिएको छ । जेसनकी छोरी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी छिन् । छोरीको यस्तो मुश्किल घडीमा पनि उनले मैदानमा आएर ब्याटिङ गरे । आफ्नी प्यारी छोरीको कष्टले आफुलाई पनि पीडा भएपनि ती सबै भुलेर उनले खेल्न आएका थिए ।

जेसनले २ घण्टा सुतेर खेल्न आए पनि १ सय १४ रन बनाएर शतक प्रहार गरेका थिए । उनले बताए—यो मेरो करियरकै सबैभन्दा सुन्दर शतक थियो । मैले जुन परिस्थितिमा यो पारी खेले यो मेरो लागि सजिलो कुरा थिएन । मैले यो शतक मेरा परिवारकी सबैभन्दा प्यारी छोरीको नाम गरेको छु ।

हालै बाबु बनेका जेसनकी छोरीको स्वास्थ्य खराब छ । उनलाई अस्पताल भर्ना गरिएको छ । पाकिस्तानविरुद्ध खेल्न अगाडि उनी अस्पतालमै थिए । उनी खेल हुन अगाडि मात्रै स्टेडियम पुगेका थिए । जुन खेलमा उनले ८९ बलको सामना गर्दै ११ चौका र ४ छक्का प्रहार गरेका थिए । उनको यो आठौं वानडे शतक हो । यो खेलपछि फेरि उनी अस्पताल फर्केका थिए । पाकिस्तानले ३ सय ४१ रनको विशाल लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्