दुवाललगायतका साहित्यकार पुरस्कृत



काठमाडौं । ‘नइ ईश्वरवल्लभ पुरस्कार–२०७५’ ले काभ्रेका वरिष्ठ साहित्यकार मोहन दुवाल पुरस्कृत भएका छन् । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा ५० हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरेर उनलाई सम्मानित गरिएको हो ।

साहित्यकार दुवाललाई नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मकरुपमा समर्पित भई देश देशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत पुरस्कृत गरिएको हो । उक्त सम्मान कार्यक्रममा भारतका साहित्यकारद्वय हाइमनदास किराँत र डा. लक्खीदेवी सुन्दासका साथै नेपालका साहित्यकारहरु प्रा.डा. चूडामणि बन्धु, गोविन्द गिरी प्रेरणा, देवीप्रसाद वनवासी (स्याङ्जा) लाई पुरस्कार समर्पण गरियो ।

त्यसै गरी धर्म–संस्कृति, राजनीति, चित्रकला, इतिहास, स्वास्थ्य, शिक्षामा क्रमशः १००८ स्वामी रमणानन्द गिरी, चन्द्रप्रकाश मैनाली, गेहेन्द्रमान अमात्य, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. महेश खकुरेल, श्रीमती किरण आचार्य (बाँके) लाई पनि पुरस्कार प्रदान गरेर सम्मान गरियो ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा र नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा नइ प्रकाशनका सचिव नरेन्द्रराज प्रसाईंले नेपाली भाषा–साहित्यको आन्दोलनमा नइले पु¥याएको योगदानबारे चर्चा गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ८ बालबालिकालाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्