पतञ्जलि ३३: शेषनागको रोजाइमा गोनर्द क्षेत्र




शेषनाग उत्तर–पूर्वतिर अभिमुख हुँदै खेचरनागकै रुपमा आकाशमार्गबाट फेरि बाटो लागे । उनले अब आर्यावत्र्त हिमवद्देशको भ्रमण गर्न थाले । यस औदीच्य क्षेत्रका अभिजात्यवर्गका आर्यहरु शिष्ट, सभ्य र शिक्षित थिए । विद्याव्यसनी थिए । गाईलाई आमासमान मानेर पूजा गर्दथे । मातृभाषाका रूपमा यिनीहरू शिष्ट भाषा देववाणी संस्कृत भाषा बोल्दथे ।

कृषिप्रधान देश थियो यो आर्यावत्र्त । । कृषि यिनीहरुको मुख्य पेसा थियो । यी आर्यहरु अर्काको सम्पत्तिमा लोभ गर्दैनथे । यिनीहरु आफूले उब्जाएको अन्न भकारीमा राख्थे । यिनीहरु सामान्य जीवन निर्वाह गर्न चाहिनेबाहेक बढी अन्न वा धनको संग्रह गर्दैनथे । भारतवर्षका अध्येता जिज्ञासुहरू अध्ययन–अनुसन्धानका लागि आर्यहरूको यसै औदीच्य देशतिर आउने गर्दथे ।

त्रेताको अन्त्यमा विश्ववाङ्मयका आदिकवि महर्षि वाल्मीकिले यसै कृष्णागण्डकी परिक्षेत्रमा तपस्या गरेर आदिकाव्य रामायणको रचना गरेका थिए । लगभग २ सय वर्षअघि यसै भेगको गोपर्वतमा महर्षि पाणिनिले तपस्याद्वारा भगवान् आशुतोषलाई खुशी गराई लौकिक तथा वैदिक व्याकरणको महान् ग्रन्थ अष्टाध्यायीको रचना गरेका थिए । यसै गोपर्वतकै उपगिरिमा अवस्थित कपिलगङ्गा किनारको कपिलधाममा सांख्ययोगका प्रवक्ता आदिविद्वान् कपिलले आमा देवहूतिलाई सांख्य दर्शनको उपदेश गरेका थिए ।

पावन वाणगङ्गा किनारको कपिलवस्तुमा जन्मेका सिद्धार्थ गौतम यसै कपिल आश्रममा योग र साङ्ख्य दर्शनको अध्ययन गरेका थिए । यसरी उनले यहीँबाट आफूभित्र अहिंसा, परोपकार तथा अष्टाङ्ग यौगिक ज्ञानको बीज अङ्कुरित गरेका थिए । त्यसपछि यिनी बोधिसत्व भएका थिए । अनि यहीँ नै भौतिक सुखबाट वैराग्य लिई पत्नी, पुत्र र भावी राजपाठसमेत छोडेर बोधगयामा तपस्या गरी काशीको दोस्रो प्रसिद्ध शिवमन्दिर सारङ्गनाथ– सारनाथको पावनभूमिमा आफ्ना शिष्यहरुलाई सनातन धर्मको युगानुकूल प्रथम उपदेश दिएका थिए ।

मैले पनि यहाँ पुनर्जन्म लिएर लोककल्याणका लागि योगशास्त्र पाणिनीय व्याकरण र भैषज्यशास्त्रलाई अझै परिष्कार तथा प्रचारप्रसार गर्नु छ । त्यसै हुनाले मैले आर्यावत्र्तको यसै भेगमा एउटा उपयुक्त ठाउँ खोजेर जन्म लिनुपर्दछ भन्ने कुराको अठोट गरे शेषनागले ।

आर्यावर्तमा पनि कुन ठाउँमा जन्म लिने होला ? भन्दै गम्दै जाँदा अयोध्याकै निकटवर्ती गोनर्दको पर्वत परिक्षेत्रमा जन्म लिने दृढ निश्चय गरे उनले । गोनर्द क्षेत्र उनको रोजाइमा प¥यो । उनी अयोध्याबाट उत्तर–पूर्व लागे । केही पर पुगेपछि उनी गोनर्द प्रदेशमा ओर्ले ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्