अदुवाको भाउ आकासियो !



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाका स्थानीय हाटहरुमा अदुवाको अभाव देखिएको छ । किसानका घरघरमै पुगेर व्यापारीहरुले तराईका जिल्लामा अदुवा निर्यात गरेपछि त्यसको प्रभाव स्थानीय हाटमा परेको हो ।

किसानसँग भएको अदुवाभन्दा उपभोक्ताको माग धेरै भएपछि अहिले प्रतिकेजी ३ सयका दरले अदुवाको किनबेच हुन थालेको छ । अघिल्ला वर्षहरुमा प्रतिकेजी २५ रुपैयाँसम्म किनबेच हुने अदुवाको भाउ ह्वात्तै बढेपछि किसानलाई राहत मिलेको छ । स्थानीय हाटहरुमा अदुवा अभाव हुँदा मार परेको सिद्धिचरण नगरपालिका ११ का व्यवसायी रविन राजभण्डारीले बताए ।

अदुवा निस्कने सिजन मंसिर पुसमै व्यापारीहरुले ५० रुपैयाँ प्रतिकेजीका दरले तराई निर्यात गरेपछि अदुवा अभाव भएको किसानहरु बताउँछन् । ओखलढुंगाको विगुटार, राँगादीप, वर्णालु, रुम्जाटार लगायतका क्षेत्रमा उत्पादन हुने अदुवा अहिले स्थानीय हाटहरुमा न्युन मात्रामा आउने गरेको छ ।

ओखलढुंगामा ४५ हेक्टर भन्दा बढी क्षेत्रफलमा अदुवाको खेती हुँदै आएको छ । जिल्लामा प्रशस्तै अदुवा खेती हुने संभावित ठाउँ भएपनि मूल्यमा आउने उतरचढावले किसानहरु व्यवसायिकरुपमा भने आकर्षित हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्