एमेच्योर शुक्रले जिते प्रिमियर गल्फ उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
एमेच्योर खेलाडी शुक्र बहादुर राईले यस सिजनकै ठूलो प्रतियोेगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

बिहीबार गोकर्ण गल्फ क्लबमा शुक्रले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि हात पारेका हुन् । योसँगै एकै सिजनमा दुई प्रमुख उपाधि जित्ने उनी पहिलो एमेच्योर खेलाडी पनि बनेका छन् । यसअघि उनले डिसेम्बरमा सुर्य नेपाल इस्टर्न ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए । योसँगै एमेच्योर खेलाडीले नेपाली गल्फ इतिहासमा ६ पटक व्यवसायिक उपाधि जिते भने यस सिजनमा चौथो पटक एमेच्योर खेलाडी विजेता बनेका छन् ।

शुक्र अन्तिम चरणको खेल खेल्न अघि प्रो खेलाडी भुवनमाथि एक स्ट्रोककै अग्रतामा थिए । उनले ५ अन्डर ६७ स्कोर गरेर समग्रमा ११ अन्डर २ सय ७७ स्कोरको कार्ड बनाए । भुवनले पनि ५ अन्डर ६७ स्कोर गरेपछि शुक्रलाई यस सिजनमा दोस्रो ठूलो उपाधि जित्न रोक्न सकेन । तर एमेच्योर खेलाडीलाई विजयी पुरस्कार रकम नदिने प्रावधान भएको हुँदा भुवनले रु २ लाख ३० हजारको चेक प्राप्त गरे ।

भुवनलाई यो रकमले यस सिजनमा सर्वाधिक कमाउने गल्फरको सूचीमा शीर्ष स्थानमा सुचित गरियो । उनले ६ लाख ६३ हजार नगद कमाएका छन् । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ भने सर्वाधिक कमाउने सूचीमा दोस्रो स्थानमा रहे । उनले ४ लाख ६० हजार नगद आर्जन गरेका छन् । उनी यो समेत गरी ४ प्रतियोगितामा सहभागिता भएका छैनन् ।

सर्वाधिक कमाउने सूचीमा विकास अधिकारी रु ४ लाख ११ हजार ३ सय ३३ सहित तेस्रो स्थानमा रहे । उनी यस प्रतियोगितामा प्रो खेलाडीमध्ये दोस्रो स्थानमा रहेका हुन् । प्रतियोगितामा चौथो स्थान हात पारेका सञ्जय लामाले रु ३ लाख ८६ हजार ५ सय आम्दानी गरेका छन् । जबकी धनबहादुर थापाले ३ लाख ८१ हजार १ सय ६७ रकम कमाएर पाँचौ स्थानमा रहे ।

एमेच्योरतर्फ पनि शुक्रले नै उपाधि जित्दो सुवास तामाङ दोस्रो स्थानमा रहेका थिए । उनले ५ अन्डर २ सय ८३ को प्रदर्शन गरेका थिए । उनी दोस्रो चरणमा सबैलाई पछाडि पारेर पहिलो स्थानमा रहेका थिए । तर तेस्रो र चौथो चरणमा उनको लय कमजोर बन्न पुग्दा निकै तल झरेका थिए । त्यस्तै टाशी छिरिङ तेस्रो स्थानमा रहेका थिए ।

एमेच्योर विजेताहरुः
शिवराम श्रेष्ठ सुर्य नेपाल वेस्टर्न ओपन २००५
रुपक आचार्य सुर्य नेपाल सेन्ट्रल ओपन २०१०
शुक्रबहादुर राई सुर्य नेपाल इस्टर्न ओपन २०१८
सुवास तामाङ सुर्य नेपाल च्यालेन्ज २०१९
टंकबहादुर कार्की सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप २०१९
शुक्रबहादुर राई सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९

प्रतिक्रिया दिनुहोस्