पशुपति क्षेत्रको सडक विवादले निम्त्याएको संकट



यतिखेर पशुपति क्षेत्रमा पर्ने तिलगंगा–ताम्रगंगा सडक बन्द गर्ने विषयमा विवाद चुलिँदै गएको छ । पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सो सडक बन्द गर्न लागेको जनाएको छ । उता स्थानीय जनप्रतिनिधि एवम् स्थानीयवासीहरु १३ वर्षअघिदेखि सञ्चालनमा आएको सडक विनाविकल्प बन्द गराएको भन्दै पशुपति क्षेत्र विकास कोषसँग रुष्ट भएका छन् । एकातिर पशुपति विकास कोषले सो सडकको वल्लो–पल्लो दुवै प्रवेश–मुखमा पर्खाल लगाउने कार्य अगाडि बढाइरहेको छ भने अर्कातिर स्थानीयवासीबाट चर्को विरोध र अवरोध भइरहेको छ ।

यस्तै भइरहने हो भने न पशुपति विकास कोषले पर्खाल लगाएर सडक पूरै बन्द गर्न सक्छ, न सडक प्रयोगकर्ताले स्वतन्त्ररुपमा सो सडक प्रयोग गर्न नै सक्छन् । साथै सामो समय विवादमै अल्झिरहने हो भने युनेस्कोले पशुपति क्षेत्रलाई विश्वसम्पदा सूचीबाट हटाउने खतरा उत्तिकै हुन्छ । त्यसैले जति सक्दो छिटो विवाद सुल्झाएर विश्वसम्पदा सूचीबाट हट्ने खतराबाट पशुपति क्षेत्रलाई जोगाउनै पर्छ । हामी सबैको यो दायित्व पनि हो ।

हुन त १३ वर्षअगाडि नै यो सडक निर्माण गर्दा पशुपति विकास कोषले रोक्नुपथ्र्यो । त्यस बेला सडक खुलाउन डोजर चलाएको आवाज सुनेर पनि नसुनेझैँ ग¥यो पशुपति विकास कोष । सरकारले पनि भित्रभित्रै सडक खोल्न सहमति जनाउने काम ग¥यो । त्यतिखेर सरकारले रोक्न चाहेको भए नसक्ने कुरा थिएन । यतिखेर आएर सडक बन्द गर्न खोज्दा सडक प्रयोगकर्ता मारमा पर्ने देखिन्छ । भएको सुविधा गुमाउन कसैले पनि चाहँदैन ।

जसरी हुन्छ सम्पदा पनि जोगाउनै परेको छ, सडक पनि चाहिएकै छ । यसले संकट निम्त्याएकाले वैकल्पिक मार्गको खोजी जरुरी छ । ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राईसहित स्थानीयवासीहरुले पनि वैकल्पिक मार्ग खोलेर मात्र सडक बन्द गर्न माग गरेका छन् ।

पशुपति क्षेत्र र विमानस्थलको सिमानामा वैकल्पिक मार्ग निर्माण गर्न सकिने कुरा उठेको छ । यदि विमानस्थलको सुरक्षामा असर पर्दैन भने यो विकल्प उपयुक्त मान्न सकिन्छ । त्यसै गरी विश्वसम्पदा क्षेत्रमा असर नपर्ने गरी सुरुङ मार्गको कुरा पनि आएको छ । हुन त सुरुङ मार्गको लागत धेरै पर्न सक्छ तर अनन्तकालसम्म स्थायी समाधान हुन्छ भने यसतर्फ पनि सोच्नै पर्छ ।

प्राचीन स्मारक क्षेत्र र विश्वसम्पदा सूचीको मापदण्ड विपरीत निर्माण भएको सडक बन्द गराउनुको विकल्प नभएको पशुपति विकास कोषको भनाइ छ । यसमा कसैको विमति छैन तर अर्को वैकल्पिक मार्गको व्यवस्था हुनुप¥यो भन्ने अहिलेको प्रमुख सवाल हो । त्यसैले वैकल्पिक मार्गको व्यवस्था गरेर पशुपति क्षेत्रलाई कुनै पनि कोणबाट जोगाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्