धापाखेलको आरके कार्पेटमा आगलागीबाट दुई करोड क्षति



ललितपुर ।
धापाखेलको आरके कार्पेट एण्ड ह्यान्डीक्रयाफ्ट उद्योगमा बुधबार साँझ आगलागी हुँदा रु दुई करोड बढीको रकम क्षति भएको छ । सो उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

उद्योगमा आगलागी हुँदा बुनेर भण्डारण गरिसकेको रु एक करोडको कार्पेट, उद्योगको तानमा लगाइरहेको रु ५० लाखको धागोसहित रु ५० लाख बढीको भौतिक संरचना जलेर नष्ट भएको सो उद्योगका सञ्चालक ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।

“एक रोपनी क्षेत्रफलमा रहेको कार्पेट उद्योग पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्”, घिमिरेले भन्नुभयो, “उद्योगभित्र बस्ने ११ परिवारको कति रकम र सामान जलेर नष्ट भए त्यसको यकिन जानकारी हुन सकेको छैन ।” सो कार्पेट निर्माणमा प्रयोग हुने सिल्क र कटनको धागो अतिनै महँगो हुने घिमिरेले बताउनुभयो ।

सो उद्योगमा कार्यरत ३६ वर्षीया कान्छी लामा आगलागीमा घाइते हुँदा उनलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार छिउँजुले जानकारी दिनुभयो ।

“लामाको हात, गोडा र पाखुरामा आगोले पोलेको छ”, छिउँजुले भन्नुभयो, “सामान्य आगलागीमा परेका अर्का एक व्यक्ति भने उपचारको क्रममा घर फर्किसकेका छन् ।” उक्त घटनाको यकिन आज दिनभरिमा बाहिर आउने बताइएको छ । आगलागी नियन्त्रणमा काठमाडौँ, ललितपुर, भक्तपुरका छ वटा दमकलका साथै खुमलटारको राजदल गणका सेनासहित महानगरीय प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी वृत चापागाउँका प्रहरीले खटिएका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्