रिना मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे



मोरङ ।
मोरङ पथरी शनिश्चरे–१ पथरी बजारमा पसल सञ्चालन गर्दै आएकी रिना बस्नेत शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले हत्या नदेखिएको निष्कर्ष निकालेको छ । वैशाख ७ गते शनिवार डेरा अगाडि मृत अवस्थामा फेला परेकी रिनाको हत्या भएको आशंकामा अनुसन्धान गरेको प्रहरीले पोष्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा हत्या भएको नदेखिएको बताएको हो ।

बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार प्रेमी भनिएका कमल नेपाल, कमलकी श्रीमती मनिता नेपाल र रिना बस्ने फ्लाटमा बस्दै आएका मदन गुरागाईँको पोलिग्राफ जाँच गरेको थियो । तीन जनाले दिएको बयान झुटो नदेखिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले कमल नेपाललाई नियन्त्रणमा लिएको थियो ।

तर, कमलको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । अभद्र व्यवहार मुद्दामा प्रशासनले उनलाई १० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । उनी बुधबार धरौटी बुझाएर छुटेका छन् । ३ जनाको पोलिग्राफ जाँच, ३६ जनाको लिखित बयान, ५० जनाभन्दा बढीसँग सोधपुछ र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले हत्या भएको नदेखिएको बताएको हो । प्रहरीका अनुसार विस्तृत पोष्टमार्टम (फरेन्सिक) रिपोर्ट पनि आएको छ । विस्तृत रिपोर्टमा उनले मादक पदार्थ सेवा गरेको देखिएको छ । उनको गर्भ नहरहेको र घटना भएको दिन शारीरिक सम्पर्क नभएको रिपोर्टले देखाएको छ ।

प्रहरीले अनुसन्धानका लागि रिनाको भेजाइनल स्वाबको पनि परीक्षण गरेको थियो ।भेजाइनल स्वाब परीक्षण गर्दा कुनै संका नदेखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टले पनि माथिबाट झर्दा लागेको चोटका कारण मृत्यु भएको बताएपछि प्रहरीले तेस्रो तलाको रेलिङबाट कसैले ठेलिदिएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो । तर, घटना भएको रात घरमा कोही पुगेको नदेखिएको प्रहरीले जनाएको छ ।

रिनाको कनेक्सन होटल सञ्चालिकासँग
रिना मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले दुई साताअघि दमकमा पसल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गरेको थियो । थापा र बस्नेत कनेक्सन देखिएपछि अनुसन्धान गरेको प्रहरीले थापाको पनि संलग्नता नदेखिएको बताएको छ । दमक बजारमा सानो खाजाघर सञ्चालन गर्दै आएकी थापाले रिनालाई अन्य पुरुषसँग जोड्ने काम गरेको प्रहरीको दाबी छ ।

शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अन्य विषयमा कनेक्सन देखिएपनि घटनाको विषयमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ । होटल सञ्चालिक थापा र रिनाका प्रेमी कमलबीच पनि चिनजान थियो । बेला–बेला उनी होटलमा जाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्