सेनाको लघु फिल्म प्रतियोगितामा अप्पन प्रथम



नेपाली सेनाद्वारा आयोजित लघु फिल्म प्रतियोगिता २०७५ का विजयीहरुलाई मंगलबार राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा कृष्णकुमार महतोको अप्पन प्रथम, गगनकुमार श्रेष्ठको चाहना द्वितीय र प्रद्युम्न मिश्रको हातेमालो तृतीय भएका छन्। नेपाली सेनाको जंगी अड्डास्थित सभा मण्डपमा आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विजयीहरुलाई क्रमशः २ लाख, डेढ लाख र १ लाख रुपियाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरे।

प्रतियोगितामा चौथो हुने महेश्वर साम्बाहाम्फे र गणेशजंग रावलको त्याग र पाँचौं हुने शम्भु थापाको साहसलाई सान्त्वना पुरस्कारस्वरुप जनही २५ हजार रुपियाँ प्रदान गरिएको छ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रतियोगिताका सम्पूर्ण सहभागीलाई जनही २५ हजार रुपियाँका साथै प्रमाणपत्र प्रदान गरे। कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एप्सको समेत शुभारम्भ गरेका थिए।

सोही अवसरमा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने ६ रेडियो तथा एफएम स्टेसनलाई कदरपत्र प्रदान गर्नुका साथै नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक २०७५’ तथा ‘द शिवपुरी जर्नल–२०१९’ मा प्रकाशित लेख रचनामध्ये ७ जना लेखकलाई सान्त्वना पुरस्कारस्वरुप जनही १० प्रदान गरेका थिए।

कार्यक्रममा सिपाही वार्षिक २०७५ तथा द शिवपुरी जर्नल–२०१९ मा प्रकाशित लेख रचनामध्ये प्रथम हुने महासेनानी रञ्जित थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः ५०, ३५ र २५ हजार रुपियाँ नगद पुरस्कार र कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रमका दौरान प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५ का विजयीहरु, लघु फिल्म प्रतियोगिताको मूल्यांकन समिति, स्क्रिप्ट राइटर मूल्यांकन, सैनिक तथा गैरसैनिकतर्फका निर्णायक मण्डल र सिपाही वार्षिक तथा शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाको मूल्यांकनकर्तालाई प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रमको शुभारम्भमा सिने विज्ञ लोकेन्द्र पराजुली (कपिल) बाट लघु फिल्म प्रतियोगितामा सहभागी फिल्म मूल्यांकन विधिका बारेमा प्रकाश पारेका थिए। नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको लघु फिल्म प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी फिल्म क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुको मूल्यांकन समिति गठन गरी उत्कृष्ट लघु फिल्मलाई पुरस्कृत गर्दै आइरहेको छ।

यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु फिल्म उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली फिल्म क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र निर्मातालाई फिल्म निर्माण गर्न प्रोत्साहित गर्नुका साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्