अमर सत्यमोहन जोशी



जन्ममितिअनुसार १९७७ साल वैशाख ३० गते ललितपुरको पाटन मंगलबजारमा जन्मिएका शताब्दी पुरूष सत्यमोहन जोशी सोमबार एक सय वर्ष पूरा गरे । उनलाई यसअघि सरकारले ‘वाङ्मय शताब्दी पुरूष’ घोषणा गरिसकेको छ । उनको दीर्घजीवन सिंगो मुलुकका लागि जिउँदो इतिहास बन्न पुगेको छ ।

उमेरले सय वर्ष पुगे पनि उनमा अझै पनि उत्साह र तन्नेरीपन झल्किन्छ । अझै पनि सार्वजनिक कार्यक्रमहरुमा पुगेर दशकौँ पुराना संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी दिने र जोशिलो मन्तव्य दिँदै आएका छन् ।

वि.सं. २००३ सालमा शारदा पत्रिकामा आफ्नो रचना प्रकाशित भएपछि उनी निरन्तररुपमा साहित्य सिर्जनामा लागिपरे । नेपालको साहित्यिक उन्नयनमा जोशीको विशेष योगदान रहिआएको छ । नेपालको संस्कृति र सभ्यताको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र अन्वेषण गरी उनले मुलुकका लागि गौरव बढाएका छन् ।

शताब्दी पुरूष जोशीले वि.सं. २०१३ मा ‘हाम्रो लोकसंस्कृति’ नामक ग्रन्थ प्रकाशन गरेर पहिलो मदन पुरस्कार प्राप्त गरेका थिए । यस्तै, २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ लेखेर अर्को मदन पुरस्कारको हकदार बने । उनी यत्तिमै रोकिएनन्, २०२८ सालमा पनि ‘कर्णाली लोकसंस्कृति’ ग्रन्थ प्रकाशन गरेर तेस्रो मदन पुरस्कार पनि हासिल गरे ।

यसरी तीनपटकसम्म मदन पुरस्कार प्राप्त गर्ने उनी एकमात्रै व्यक्तित्व हुन् । एकपछि अर्को मदन पुरस्कार प्राप्त गरेपछि मदन पुरस्कार गुठीले नै उक्त पुरस्कार दोहो¥याएर कसैलाई नदिने निर्णय गर्नुपरेको थियो । शताब्दी पुरूष जोशी सरकारी सेवामा रहेर आफैँ सम्पदा भए । उनले २०१५ सालमा पहिलोपटक खुलेको पुरातत्व विभागको निर्देशक भएर धेरै प्राचीन मूर्तिहरु सार्वजनिक स्थलहरुबाट संग्रहालयमा स्थानान्तरण गरे ।

सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरेर उनले मानिसहरुलाई सांस्कृतिक सम्पदाको महत्व बुझाउन सफल भए । उनी नेपाल भाषाका चान्सलर हुन् । नेपाल भाषाको श्रीवृद्धिमा उनको ठूलो योगदान छ । शताब्दी पुरुष जोशीको नाटक विधामा पनि अतुलनीय योगदान रहेको पाइन्छ । नाट्य निर्देशन गर्ने उनले ०१६ सालमा राष्ट्रिय नाचघर निर्माण गर्न होस् चाहे चीनमा नेपाली भाषा सिकाउने काममा नै किन नहोस्, उनको उत्तिकै सक्रियता रहेको पाइन्छ । चिनियाँ रेडियोबाट नेपाली भाषाको समाचार प्रसारण गराउने श्रेय पनि उनलाई नै जान्छ ।

बाल्यकालदेखि शताब्दी कालसम्म अविरलरुपमा उनको सक्रियता र क्रियाशीलता रहेको पाइन्छ । उनले पाँच दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन् । उनका जयप्रकाश र श्वेत चैत्य महाकाव्य कृति छन् । यस्तै कलाकार अरनिको, चारुमती, सुनकेशरी, बाघभैरव, नेपाली कलाको रुपरेखा, नेपाली धातुमूर्तिको विकासक्रमलगायतका पुस्तक प्रकाशनमा आएपछि त्यससम्बन्धमा नयाँ तथ्यहरु उजागर भएका थिए ।

जोशीले नेपाल प्रज्ञाप्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, श्रेष्ठ शील्पा, काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिलगायत सयौँ पुरस्कार तथा अभिनन्दन ग्रहण गरिसकेका छन् । नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशीको गौरवमय सय वर्ष मनाउँदा हरेक नेपालीजनमा गर्व महसुस भएको छ । नेपाली संस्कृति तथा कलाक्षेत्रमा गौरव बढाउने मूर्धन्य व्यक्तित्व जोशीको भावी जीवन अझै स्मरणीय बनोस् । उनको योगदानप्रति उच्च श्रद्धा सम्मान ।
– दीपा नगरकोटी, ललितपुर ।

न्यायालयको विडम्बना
लोकसेवा उत्तीर्ण गरेर न्यायसेवामा छिरेका मीनबहादुर रायमाझी प्रधानन्यायाधीश त भए, तर जम्मा सात महिना । उनीजस्तै रामप्रसाद श्रेष्ठले आठ महिनामा राम्रो काम गरेर वाहवाही कमाए । तर, त्यसभन्दा बढी काम गर्न पाएनन्, सेवाहदका कारण । अनुपराज शर्माले तीन महिना खाए । अलिक बढी हुने दामोदर शर्माले डेढ वर्ष, दिलीप शर्माले दुई वर्ष, गोपाल पराजुलीले दश महिना सर्वोच्चको नेतृत्व सम्हाले । दीपकराज जोशीले कामुका रुपमा चार महिना चलाए ।

अब नेपालको न्यायिक इतिहासमा विश्वनाथ उपाध्यायपछि चार वर्ष चलाउनेछन् चोलेन्द्रशमशेर राणाले । त्यसपछि भर्खरै कानुन व्यवसायीका तर्फबाट सर्वोच्चको न्यायाधीश नियुक्त हरिप्रसाद फुयाँल हुँदै छन्, लामो कार्यकाल चलाउने प्रधानन्यायाधीश । केही समय तत्कालीन पुनरावेदन न्यायाधीश हुँदै अहिले सर्वोच्चमा नियुक्त मनोज शर्माले न्यायपरिषद्मा आठ वर्षसम्म वरिष्ठतम् न्यायाधीशका रुपमा प्रतिनिधित्व गर्दै छन् ।

पहिला न्यायाधीशमा कानुन व्यवसायीमध्येबाट ४० प्रतिशत नियुक्त गर्ने प्रचलन थियो । तर अहिले ६० प्रतिशतले सर्वोच्चमा अवसर पाएका छन् । कुमार चुडाल पोखराबाट पाटन उच्च अदालतको मुख्य न्यायाधीशमा आएका छन् । उनी प्रकाश ढुंगानापछि दोस्रो नम्बरमा परे पनि सपना प्रधान मल्लले बाटो छेक्थिन् । भदौमा केदार चालिसे घर गएपछि पनि उनको पालो आउला नआउला, ठेगान छैन । उतै ससुराली भएका कुमार रेग्मीले बंगालबाट एलएलएम गरेका हुन् ।

उनी तीन वर्ष प्रधानन्यायाधीश हुन्छन् । १३ वर्ष सर्वोच्चमा काम गरेपछि सपना प्रधानन्यायाधीश हुनेछिन् । उनी दोस्रो महिला प्रधानन्यायाधीश बन्ने लाइनमा छिन् । सुष्मालता माथेमाजस्ता करिअरवाला महिलाले न्यायाधीशमै चित्त बुझाउनुपर्ने स्थिति छ । यदि कानुन व्यवसायीको भीड नबढेको भए केही करिअरवाला श्रीमान् सरासर माथि उक्लिन्थे । मनोज र हरि ०२८ सालका ब्याची हुन् । यिनले १७ वर्षसम्म अदालतमा कार्यसम्पादन गर्छन् । कुमारले १३ वर्ष न्यायाधीश र तीन वर्ष प्रधानन्यायाधीश भ्याउँछन् । हरिले चार वर्ष अदालत हाँक्ने मौका पाउनेछन् ।

ल क्याम्पसमा लामो समय पढाएर न्यायसेवामा प्रवेश गरेका गुरुहरु तलै छन्, सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्त भएका विद्यार्थीहरूचाहिँ गुरुहरुको पनि गुरु बन्दै छन् ।
– खिम घिमिरे, विद्यार्थी (कानुन) ।

प्रतिक्रिया दिनुहोस्