नेपाल सफल कि असफल !



दामोदर पौडेल
असफल राष्ट्रका धेरै प्रकारले गरिने परिभाषाहरु छन् । मैले भर्खरै यस्तो परिभाषा पाएँ । जसअनुसार देशमा चिल्ला गाडी धेरै हुन्छन् र सडक खत्तम हु्न्छन् । सरकारी विद्यालयहरु प्रस्शस्त हुन्छन् तर सरकारी शिक्षकले नै आफ्ना बच्चालाई निजी विद्यालमा पढाउँछन् । देशमा सरकारी अस्पताल हुन्छन् तर ती देशमा हुनसक्ने उपचारहरु पनि विदेशमा गएर गराइन्छ । यी भनाइमा धेरै कुरा लुकेको छ ।

देशको आमदानीको स्रोत यहाँको प्राकृतिक साधन–स्रोत वा देशभित्रैबाट सृजित नभई अन्य आधारमा निर्भर छ भने पनि त्यो देशको सफलता जोखिममा रहिरहन्छ । असफल राष्ट्रका परम्परागत परिभाषाहरु त धेरै छन् तर माथिका आधारहरु मार्मिक छन् । नेताहरु जनताको लागि लडेको र काम गरेको बताउँछन् तर पैसा कमाएर विदेशमा राख्छन् अनि आफ्ना सन्तानको सुखद भविष्यको लागि आफ्नो देश असुरक्षित सम्झन्छन् ।

जहिले पनि गल्तीको दोषी निर्दोषलाई र बलियो दलमा नलागेको वा कमजोर हैसियत भएकालाई दिने गरिन्छ । ठूला मानिसले जग्गा किने भने उनीहरुले गल्ती गरेको हैन अरुले फसाएको भनिन्छ । जग्गा किन्नेले क्षतिपूर्ति पाउनुपर्दछ पनि भनिन्छ । त्यही जग्गा कमिसन लिएर सरकारी जग्गा निजी बनाउन सहयोग गरेको भनिदैन । सानो हैसयतकाले जग्गा किनेको भए उसको के हालत हुने थियो ? विद्यालयमा प्रधानाध्यापकले शिक्षकहरुको सञ्चय कोषसमेत खाइदियो भने स्रोतव्यक्तिहरु त्यो प्रधानाध्यापकलाई किन समय–समयमा चेक नगरेको भन्छन् ।

यो कथा अलिक बढी नै चोटिलो हुन्छ कि ! तर उदाहरण कहिलेकाहीँ चर्को पनि हुन्छ । एउटा घरमा चोर पसेछ । छतको रेलिङमा डोरी लगाएर ऊ तल जान लागेको त रेलिङ नै भत्केछ । ऊ तल पछारिएछ र घाइते भएछ । रेलिङ नराम्रो भएकोले घाइते भएको भनेर उपचार र क्षतिपूर्ति त्यो चोरी भएको घरधनीबाट दिलाउनको लागि उसले समाजमा पञ्चायत राखेछ । समाजमा उसैको दबदबा रहेछ । उसले चोरेर धेरैलाई बाँड्ने गरेको र केहीले आफ्नो घरमा चोरी नगरोस् भनेर उसैको समर्थन गर्दा रहेछन् । पञ्चायतमा त्यो घरधनीलाई बोलाइएछ ।

बलियो रेलिङ नराखेकाले घाइतेको उपचार घरधनीले गर्नुपर्ने प्रस्ताव आएछ । घरधनीले आफूलाई सजायँ हुने देखेपछि त्यो काम त मिस्त्रीले गरेको हो, मैले त सामान राम्रै दिएको थिएँ भनेछ । मिस्त्रीका कारण आफूलाई पनि दुःख भएको उल्लेख घरधनीले गरेछ । उता मिस्त्रीले त्यो काम गर्न लाग्दा बाटोमा एउटी राम्री युवती हिँडेकाले उसलाई हेर्दै काम गर्दा रेलिङ कमजोर हुन पुगेको बताएछ । त्यसपछि युवतीलाई खोज्ने निर्णय भएछ । मिस्त्रीलाई नै ती युवती खोज्ने जिम्मा दिइएछ । तिनलाई पत्ता लगाउन नसकेकाले घरधनीले केही समयको लागि राहत पाएछ ।

के यी घटनासँग विश्वका कतिपय राजनीतिज्ञहरुका कामका परिदृश्य मिल्छन् कि ? नेपाल त सांग्रिलाको देश हो नि ! सांग्रिला अर्थात् अचम्मको विविधता भएको देश, जहाँ हिमाली मानव यती छ भनिन्छ, जुन देखिएको प्रस्ट प्रमाण छैन । कसैले यतीको पदचिह्न देखेको बताउँछन् । तर पनि यो यतीको देश हो । हाम्रो देश राम्रो कुरा गर्ने तर कामले केही पनि भएको नदेखिएको हो कि त ! पहिला विजय हुनेहरुमा विजयको उन्माद हुने गथ्र्यो । अहिले जित्नेहरुमा त्यो पनि रहेन । जित्नेहरुका नजिकका वुद्धिजीवी भनिनेहरु यो फलानो विचार गरेको प्रतिनिधित्व गर्ने सरकार भने पनि सरकारले त्यो विचारको प्रतिनिधित्व नै गर्दैनसमेत भन्न थालेका छन् । जित्नेहरु पनि राम्रो काम नभएकाले पीडित वा लज्जित छन् । केही पद नपाएकाले पनि लज्जित छन् । किनभने उनीहरुभन्दा कम हैसियत भएकाहरुले पद पाएकोले कठिन भएको छ । कतिपयलाई त भ्रष्टहरुको बचाउ गर्न नै हम्मेहम्मे परेको छ ।

भारत, चीन तथा अन्य सभ्य राष्ट्रको हामीसँग स्वार्थ र चासो रहेसम्म हामी भित्रभित्रै असफल भए पनि देखिने गरी असफल हुँदैनौं । अर्को कुरा, केही समयको सामान्य जातीय विवाद र झडपबाहेक भारत र पश्चिमा राष्ट्रले नचाहेसम्म यहाँ गृहयुद्ध सम्भव छैन । हरेक गाउँ करिब–करिब बहुजातीय नै छ । यस्तो अवस्थामा जातीय द्वन्द्व असम्भव प्रायः छ ।

सत्ताबाहिर रहनेहरु कहिले–कहिले कराउँछन् तर आफ्ना आदरणीय नेताहरुको भ्रष्टको नाममा जोडिएर नाम आउँछ, पछाडि हट्छन् । भ्रष्टाचारको विरोध पनि श्राद्धमा बिरालो बाँधेजस्तो भएको छ । प्रतिपक्षमा नै रहेकाले पनि आफ्ना नेताहरुसमेत भ्रष्टाचारमा मुछिएको कुरा आएपछि विरोध गर्न सकिने भए पनि विरोध गर्न मिलेन । नमिल्नाको कारणमा चुनावमा टिकट पाइँदैन कि ! भएको दलको पदबाट ठूलाबडाले झारिदिने हुन् कि ! भएको हैसियत पनि खस्कने हो कि ! कठिनाइका थानहरु नै छन् ।

कांग्रेसले सबै ठूला मुद्दा थाती राखी राष्ट्रपतिले मेरो सरकार भनेर संसद्मा सम्बोधन गर्नुभएको विषय विवादको घेरामा राखेको छ । देशको सार्वभोमिकताको प्रतिक राष्ट्रपति भएपछि उहाँले मेरो सरकार भन्नुमा के दोष छ ? जुन विषय विवादको नै हैन, त्यसमा विवाद गरिँदै छ । विवाद हुनुपर्नेमा चाहिँ कुनै विवाद नै छैन ।

वाइडबडी प्रकरणको बारेमा कांग्रेसले विरोध गरेकोमा अब निदाउन थालेको छ । यस प्रकरणमा सबै दोषी छन् भन्न सकिँदैन । यहाँ बुझ्नुपर्ने विषय भनेको के हो भने, तौल कम भएको किन्ने भनिएकोमा धेरै बढी तौल भएको जहाज किनिएको प्रसंग नै भ्रष्टाचारसँग सम्बन्धित हो । सबै कार्य भ्रष्टाचार होइन । कम तौलको जहाज ल्याएको भए इन्जिनले बढी समान बोक्न सक्ने थियो । जहाजको नै तौल बढी भएपछि इन्जिनले जहाजको अरु भाग बोकेर बाहिरी समान बोक्ने क्षमता कम हुन्छ । यसले गर्दा जहाजको क्षमता कम भएकोले नाफा कम हुन्छ । समस्या र भ्रष्टाचारको जरो यत्ति नै हो । जहाँबाट कम तौलको जहाजको सट्टामा बढी तौलको जहाज ल्याउने कार्य वा योजनाले प्रवेश पायो त्यहीँबाट मात्र भ्रष्टाचार हुन्छ । त्यो तथ्य सार्वजनिक गरेमा भ्रष्टहरुको सूची आफैं आउँछ ।

जग्गाको भ्रष्टाचारको कुरा पनि त्यस्तै हो । पहिला चर्कियो, जब प्रतिपक्षीका ठूला नेताको पनि संलग्नताको कुरा आयो, औपचारिकतामा नै सीमित भयो । मलाई सबै दलका बँधुवा मजदुरजस्ता भएका नेताहरुलाई भन्नु यत्ति नै छ कि तपाइँंहरुका नेताहरुले बाहेक अरु सर्वसाधारणले यो अपराध वा कार्य गरेको भए झुक्याइएको हुन्थ्यो कि ! अपराध ? जनताको मात्र संलग्नता भएको भए र दलका नेताहरुले मिलिभगत नगरेको भए यो विषयले कुन मोड लिने थियो ?

एन्सेल रोइकराइ गरिरहेको छ कि कर माफ गराइदिन्छु भनेको आधारमा नेताहरुलाई चुनावमा पैसा बुझाइएको छ । यो अर्बौंको पैसा पक्कै घरको सेफबाट निकालेर दिइएको हैन होला । कुनै बैंकमार्फत नै पैसा झिक्ने र दिने वा कुनै एक काम भएको होला । त्यसैले विवाद सेलाउँदै छ । एनसेल अपराधी हुने र अपराधीलाई लुकाउने नेताहरु हुन् भने उनीहरु साधु बन्न सक्दैनन् । एउटा रक्सीको बोतल पत्ता लगाएर भन्सार तिराउने वा जफत गर्ने भन्सारका कर्मचारी र प्रहरीहरुले ३३ किलो सुन देखेनन् भनेर कसले पत्याउला ? भर्खरै पनि सुनको कुरा चलेकोमा सेलाउँदै गरेको देखिएको छ । विचरो अख्तियार ५ हजारदेखि धरैजसो ५ लाखसम्मका घूस र बेथितिका घटनामा छाएर धेरै काम गरेकोजस्तो भ्रम जनतामा दिन खोजिरहेको छ । प्रायः दिनहुँ फुच्चे भ्रष्टाचारका घटना सुनिएकै छन् । ठूला भ्रष्टाचारका घटना लुकिरहेका छन् । साना भ्रष्टाचारका घटना पनि अचम्मका हुन्छन् । भ्रष्टाचारको आरोप लगाएर जागिरबाट निलम्बन गर्ने र पछि उसले जितेमा १० वर्ष मुद्दा चलेको भए पूरै तलब काम नगरी पाउने । त्यो १० वर्षमा अन्यत्र गरेको काम बोनस नै हुन्छ ।

अख्तियारमा पनि ठूलै मुख भएकाहरुले पनि भ्रष्टाचार गर्ने भएकाले पक्रिइएका छन् । अर्थात् घूस दिए अख्तियारमा पनि भ्रष्टाचारीले भ्रष्टाचारीलाई समात्ने र पनि चोखिने हाँगाहरु छन् । यी कारणले देश प्रशासनिक र राजनीतिक रुपले पनि असफल राष्ट्र भएको छ । तर यो देश असफल राष्ट्र कहिल्यै हुँदैन । किनभने सानै काम भने पनि पाउने भारत हाम्रो श्रमबजार हो । धर्म प्रचारको लागि पनि प्रशस्त पैसा आउँछ । चीनबाट पनि उत्तरको सुरक्षाको कुरामा सहयोग गर्ने हिसाबले र भारतसँगको समदूरीको कुरा सम्झाएर सहयोग लिन सकिन्छ । यो नेपालको लागि गौरवकै विषय हो कि ! उत्तर कोरियाले हतियार प्रयोगको डर देखाएर विदेशबाट खाद्यान्नको सहयोग लिन्छ । उत्तर कोरियामा १० वर्षमा भयंकर भोकमरीको समाचार आयो, त्यसको लगत्तै क्षेप्यास्त्र परीक्षण भयो । हाम्रो पनि यस्तै तरिका हो ?

भारत, चीन तथा अन्य सभ्य राष्ट्रको हामीसँग स्वार्थ र चासो रहेसम्म हामी भित्रभित्रै असफल भए पनि देखिने गरी असफल हुँदैनौं । अर्को कुरा, केही समयको सामान्य जातीय विवाद र झडपबाहेक भारत र पश्चिमा राष्ट्रले नचाहेसम्म यहाँ गृहयुद्ध सम्भव छैन । हरेक गाउँ करिब–करिब बहुजातीय नै छ । यस्तो अवस्थामा जातीय द्वन्द्व असम्भव प्रायः छ । भारतमा भाजपाले हार्ने सम्भावना छैन र हारेर कांग्रेस सत्तामा आएमा पनि गृहयुद्ध हुने सम्भावना वा गराउने सम्भावना केही भएमा चीनको कारणले महँगो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले गृहयुद्धको कारणले पनि यो देश असफल राष्ट्र हुने सम्भावना कमै छ । भाग्य भनौं वा दुर्भाग्य ? काम प्रायः असफल तर माथि उल्लिखित परिस्थितिले असफल बन्न नदिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्