वडाबासीको सुझाव अनुसार विकास निर्माण



मिलन सिलवाल
वडाध्यक्ष- गोदावरी नगरपालिका–५ ललितपुर

जनप्रतिनिधीले स्थानीय निकायको जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । जनप्रतिनिधी भएपछि स्थानीय तहको कार्यसम्पादन सहज भएको चर्चासँगै विगतका प्रतिवद्धता कार्यान्वयन भएको आलोचना पनि उत्तिकै छन् ।

यही सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका–५का वडाध्यक्ष मिलन सिलवालसँग नेपाल समाचारपत्रकर्मी सुरेश तामाङले लिएको अन्तर्वाताको सम्पादित अंश ।

तपाईले वडाको नेतृत्व सम्हालेपछि बडामा के कस्ता काम भएका छन् ?

मैले वडाको नेतृत्व सम्हालेपछि सुशासन कायम गर्ने र वडाले प्रदान गर्ने सेवालाई चुस्त र दुरुस्त बनाउने प्रयास भएको छ । विशेषगरी एकल महिला, जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । म निर्वाचित भएर आउनु अघि त्यस्तो वातावरण थिएन । वडा कार्यालयलाई अपाङ्ग मैत्री बनाइएको छ, शारिरिक रुपमा अशक्तले समेत सहजै सेवा लिन सक्ने वातावरण बनाइएको छ । सेवाग्राहीलाई कुनै झन्झट विना सेवा सुविधा उपलब्ध गराइरहेका छौ ।

वडाको कार्यसम्पादनका क्रममा विभिन्न चुनौती पनि भोग्नु भयो होला, त्यस्तो केही अनुभव छ ?

समाजका लागि काम गर्छु भनेर वडाको जिम्मेवारी सम्हालेपछि केही चुनौती त अवश्य नै भोग्नुपर्छ । खासगरी वडाको विकास निर्माण र पूर्वाधारका काममा केही चुनौती आउने गरेका छन् । उमेरको हिसाबमा कान्छो वडाध्यक्ष भएर पनि यस्तो अनुभव भएको हुन सक्छ । तर चुनौती र अप्ठ्यारोलाई दिनरात नभनी दत्तचित्त भएर समाधान गर्ने प्रयास भइरहेको छ । समस्यालाई वडा कार्यालयले सामुहिक रुपमा र कार्यक्षेत्रमा पुगेर हल गर्ने अभ्यास थालेको छ । वडावासीसँगै रहेर निकास खोज्दा उहाँहरु पनि कन्भिन्स हुनु भएको छ ।

वडावासीको गुनासो कस्तो विषयमा छ, कस्ता गुनासो हल भएका छन् ?

गुनासोको कुरा गर्दा भूकम्पपछिको पुन निर्माण नै हो । अन्य खासै गुनासो आएको छैन । हामी निर्वाचित हुनु अघि भुकम्प पीडितको सर्वेक्षण भएको थियो हामी प्रतिनिधी भएर आएपछि गुनासो हामीसँग आइपुग्यो । सर्वेक्षणका क्रममा भएको प्राविधिक त्रुतिकै कारण वडाबासीको गुनासो आएको हो । उहाँहरुको गुनासोलाई हामीले गम्भिर रुपले लियौँ र सुनुवाईमा समेत प्रयास गरिरहेका रहेका छौ भने कतिपय फछ्र्यौट समेत भएका छन् ।

तपाईको वडा प्राचिन नगरीको रुपमा पनि चिनिन्छ, पर्यटकीय गन्तव्य बन्न सक्ने भू–भाग प्रसस्त छन् । यसका लागि कस्ता योजना अघि सार्नु भएको छ ?

यो वडा लिच्छिविकालिन लेले शहर हो । यहाँ विशेष गरी धार्मिक मठमन्दिर भएकाले यसलाई धार्मिक पर्यटकीय हिसावले अगाडि बढाउन सकिने सम्भावना प्रसस्तै छन् । डाँडा काँडाबाट हिमाल सहित मनमोहक दृश्य नियाल्ने स्थल पनि छन् । उपत्यकाकै अग्लो डाँडा फुल्चोकीसम्म पुग्न सकिने हाइकिङ रुट पनि छन् । हामीसँग कृषियोग्य भू–भाग ठूलो मात्रामा भएकाले कृषि र धार्मिक पर्यटनका दीर्घकालिन योजना अघि बढाउन सकिन्छ । वडाले मात्रै सबै योजना अघि बढाउन नसक्ने भएकाले अन्य निकायसँगको साथ र सहयोगमा योजना अघि बढाइने छ ।

विकासका योजना र बजेट वितरणमा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?

हामीलाई वडाबासीले चुनेर पठाउनु भएकाले वडामा कस्ता योजना आवश्यक छ भनेर उहाँहरुबाट राय सुझाव लिने गरेका छौ । उहाँहरुकै टोलसम्म पुगेर योजनाको संकलन गर्छौँ । बास्तविक समस्या बुझ्ने कोशिस गछौँ । वडावासीको समस्या, आवश्यकता र सम्भाव्यता हेरेर योजनाको प्राथमिकिकरण गर्छाैँ ।

त्यसपछि कुन योजनालाई वडाबाट सम्बोधन गर्न सकिन्छ कुनलाई प्रदेशबाट सकिन्छ र कुनलाई संघबाट गर्न सकिन्छ भनेर छलफल गर्छौ त्यसपछि मात्रै निर्णय गर्छाै । हामीले पहिलो प्राथमिकतामा सडकलाई राखिएका छौ । त्यस्तै कृषिलाई पनि प्राथमिकतामा राखेर चिस्यान केन्द्र, तरकारी संकलन केन्द्र लगायतलाई प्राथकिमकता दिएका छौँ । शिक्षामा सरस्वती मावि अन्य आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, उत्कृष्ट विद्यार्थी उत्पादन गर्न प्रमुखताका साथ योजना ल्याईरहेका छौँ ।

विकासका सम्भावना भएर पनि यो भेग छायाँमा प¥यो, विकासले कोल्टे फेरेन भन्ने गुनासो विगतमा धेरै थियो । अहिलेको अवस्था पनि उस्तै हो कि ?

हामी निर्वाचित भईसकेपछि विकासले रामै्र फड्को मारेको जस्तो लाग्छ । हिजो गाविस रहँदाको अवस्था र अहिले स्थानीय तह समायोजन भएर स्थानीय सरकार आईसकेपछिको अवस्था फरक छ । हुनत हिजो बजेटको दायरा अलि कम र योजना धेरै भएर पनि होला । हिजो गरिने विकास योजना र आजको विल्कुल फरक छ । आज सम्पूर्ण निकाय चुस्त रुपमा चलेको अबस्था छ । अहिले बजेट वृद्धिसँगै विकास निर्माणको काममा पनि गुणस्तर कायम भएको पाउँछौँ । उहीलेको भन्दा अहिले बजेटमा बृद्धि पनि भएको छ । जनप्रतिनिधि आईसकेपछि यो सम्भव भएको हो ।

वडामा धेरै किसिमका उद्योग धन्दा सञ्चालनमा छन् । उद्योग मार्फत नगरपालिकाले राम्रै राजश्व पनि उठाएको छ । सडकको अबस्था भने गए गुज्रेको छ, यस्तो अवस्था कहिलेसम्म ?

यो जायज प्रश्न हो । यसलाई नगरले पनि स्वीकारेको विषय हो । यो राम्रै आयस्रोत भएको वडा पनि हो विशेष गरी यहाँ चुनढुंगा उत्पादन हुन्छ । यहाँबाट नगरले राम्रै राजश्व उठाउँछ तर उठ्यो भन्दैमा हामीले अलि बढी बजेट चाहिन्छ भनेर हामीले मागेका छैनौँ । सडकको अवस्था सुधार्ने कुरा चाहेर पनि पुरा गर्न नसकेको पक्कै हो । किनकी जम्मा वडाको बजेट सिलिङ ८० लाखको हुन्छ । त्यहाँबाट वडाभित्रको शिक्षा, स्वास्थ्य, अन्य काम पनि गर्नुछ । लगनखेलहुँदै तिलेश्वर गोटिखेल पुग्ने सडक विस्तारकै क्रममा छ । यो सडकमा खाल्डा खुल्डि परेकै हो । तर यो सडक नगरभित्र परे पनि नगरको कार्यक्षेत्रभित्र नपरेकोले नगरले चाहेर पनि बजेट हालेर काम गर्न नसकेको हो । मुआब्जा विवाद पनि रहेकोले सो विषय नटुंगिएसम्म सडकको अवस्था तत्काल सुधार हुने संभावना छैन । तर समस्या समाधानका लागि सहजीकरण गर्ने, र विभिन्न निकायमा सम्पर्क गर्ने काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउने भनेको नमुना नेपाल नामको परियोजनास्थल यस वडाको खावा डाँडा छनोटमा परेको थियो । तर अहिले त कुरो सेलायो नि ?

सो परियोजना लेले ल्याउनु पूर्व फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग मेरो भेट भएको थियो । उहाँले आफ्नो परियोजनाको प्रस्तुती राख्नुभयो । हिमाल, पहाड, तराईका सम्पूर्ण विषयबस्तुलाई दर्शाउने नमुनाको रुपमा विकास गर्दै सारा नेपाल एकै ठाउँबाट चिनाउने उहाँहरुको अभियान हामीले मन परायौँ । त्यसपछि उहाँलाई हामीले परियोजना छनौटको लागि भ्रमण समेत गरायौँ ।

उहाँले आफ्नो परियोजनाको लागि उपयुक्त स्थान यस वडाको खावा डाँडालाई रोज्नु भयो । यसमा हामीले पनि खुसी मान्यौँ । त्यसपछि हामीले स्थानीय सबैसँग यस विषयमा कुरा राखेर उहाँलाई अनुमति दिने काम गरौँ । उहाँहरुले माग गरेअनुसारको एक हजार देखि १ हजार ५ सय रोपनीको जग्गामा उहाँहरुले सर्भे समेत सम्पन्न गरिसक्नु भएको छ । पछिल्लो पटक सिताराम जीसँगको संवाद अनुसार काम हुँदैछ भन्ने कुरा आएको छ । यो विषयमा सम्पूर्ण लेले बासीको साथ र सहयोग रहन्छ ।

प्रतिक्रिया दिनुहोस्