स्याउ खेतीमा आत्मनिर्भर बनाइने



जुम्ला ।
जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो ।

स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ ।

खाली जमीनमा बढी स्याउ खेती गर्ने कृषकलाई विशेष प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने स्याउ सुपरजोनको लक्ष्य छ । जिल्लाका तीन गाउँपालिका र एक नगरपालिकाका कृषकले स्याउ खेतीका लागि सुपरजोनबाट सहयोग लिने व्यवस्था छ । कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको कार्यालय प्रमुख टीकाराम शर्माले बताउनुभयो । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रुपमा विकास गर्नुपर्ने प्रमुख शर्माले जानकारी दिनुभयो ।

कृषकले माग गरेको योजनालाई सुपरजोनले सम्बोधन गर्ने बताइएको छ । स्याउको बजारीकरणमा ध्यान दिनुपर्ने कृषकको सुझाव छ । स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक मीनबहादुर डाँगीले कृषकको मागमा आधारित भएर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लालाई स्याउ पकेट क्षेत्रका रुपमा विकास गर्न कृषक नै बढी सक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ छ । जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउको बगैँचा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ भने यस वर्ष करीब रु ३३ करोडको स्याउ बिक्री वितरण भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्