संसदीय समितिमा पहिलोपटक देउवा



गंगा बराल, काठमाडौ ।
संसदको संसदीय समितिमा बुधबार पहिलोपटक नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनुभएको छ । प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिमा बुधबार बिहान देउवा अचानक पुग्नुभएको हो ।

समितिको बुधबारको ३५ औं बैठकमा पहिलोपटक देउवा देखिनुभएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले देउवा पहिलोपटक समितिमा आएर केहीबेर बसेको बताउनुभयो । हाजिरमात्र गरेर निस्कनुभएका देउवा केही पनि बोल्नुभएन । बुधबार बिहान नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा जानुभएका बेला एकैछिन भएपनि समितिमा उपस्थित भएको जनाइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एकपटकमात्र समितिको बैठकमा उपस्थित हुनुभएको छ ।

‘मिनी संसद’ रुपमा चिनिएको संसदीय समितिको बैठकमा प्रायजसो प्रमुख नेताहरु सहभागी हुने गरेका छैनन् । अर्थ समितिका सदस्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य रहनुभएका पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल भने प्रायजसो समितिमा उपस्थित हुने गर्नुभएको छ ।

जुनसुकै विधेयकमाथि पनि प्रशस्तै छलफल गरिने समितिलाई नेताहरुले आफू व्यस्त हुने गरेको भन्दै वेवास्ता गर्दै आएका छन् । प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ वटा र २ वटा संयुक्त समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्