प्रदेश– ५ सातै प्रदेश मध्ये अगाडिः मुख्यमन्त्री



नरेन्द्र केसी, दाङ ।
प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोेख्रेलले धेरै सूचकमा प्रदेश ५ अरु प्रदेशभन्दा अगाडि रहेको बताउनुभएको छ । उहाँले आफ्नो प्रदेश अहिलेसम्म सातवटै प्रदेशमध्ये प्रथम रहेको पनि बताउनुभयो ।

दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिमको १३ औं स्थापना दिवसलाई सम्वोधन गर्दै उहाँले आफ्नो कार्यकालभित्रै प्रदेश ५ को आर्थिक बृद्धिदर दुइ अंकमा पुर्याउने पनि बताउनुभयो ।

‘हामी आउनुभन्दा पहिले यो प्रदेशको कूल ग्राहस्थ उत्पादन ६ प्रतिशत थियो, अहिले ७ दशमव ४ पुगेको छ’– उहाँले भन्नुभयो– ‘एक बर्षको बीचमा भएको प्रगति यो सामान्य होइन ।’ त्यस्तै कानून निर्माण, आवधिक योजना निर्माण र विकास बजेट कार्यान्वायनमा पनि आफ्नो प्रदेश नम्बर एकमा रहेको जानकारी उहाँले दिनुभयो । देशमा विकास निर्माण घनिभूतरुपमा अघि बढे पनि मिडियाले भने नकारात्मक मात्रै प्रचार गर्ने गरेको भन्दै उहाँले गुनासो गर्नुभयो ।

विकास निर्माणका लागि अब समस्या नभए पनि जनताको मनोवृत्तिमा परिवर्तन ल्याउन अपरिहार्य रहेको उहाँले औल्याउनु्भयो । ‘हामीले राज्यविरुद्ध लामो राजनीतिक लडाइँ लड्यौं, अन्य देशमा एउटा लडाइले युग परिवर्तन हुने भए पनि हाम्रोमा २००७, २०४६ र २०६२/०६३ मा लडाइ लड्नुपर्यो’– उहाँले भन्नुभयो– ‘पटकपटक राजनीतिक लडाइ लड्न परेकाले पनि होला, धेरै नेपालीको राज्यविरुद्ध लड्नुपर्छ र राज्यलाई कमजोर बनाउनुपर्छ भन्ने सोंच अझै कायम छ ।’ राजनीतिक अधिकारको लडाइ सकिए पनि अब राज्यलाई बलियो बनाउनुपर्छ र मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्ने मनोभावना विकास हुन नसकेको औल्याउँदै उहाँले जनताको मनोवृत्ति परिवर्तन आजको आवश्यकता भइसकेको बताउनुभयो ।

‘मिडियामा नियमन जरुरी’
कार्यक्रमका सहभागीहरुले मिडिया काउन्सिल विधेयकको बिरोध गरेपछि जवाफ दिंदै पूर्वसञ्चारमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोख्रेलले मिडियाको नियमन जरुरी रहेको बताउनुभयो । ‘विधेयकका बिषयमा त बहस गर्न सकिएला तर मिडियामाथि नियमन हुनु हुँदैन भन्ने कुरा सही छैन’– उहाँले भन्नुभयो– ‘मिडियामा भाइरस पसेको छ, यसलाई हटाउन कानून जरुरी छ ।’

राजनीतिक क्षेत्रमा शुद्धिकरण हुनुपर्छ भन्ने माग राख्ने मिडियाले आफूभित्रको शुद्धिकरण हटाउन तयार नहुनु बिडम्बना भएको पनि उहाँले बताउनुभयो । ‘मिडिया काउन्सिलमा मिडियाकै मान्छे राख्ने हो, बाहिरबाट ल्याउने होइन तर मिडियाहरुलाई आफ्नै मान्छेप्रति यति डर किन ?’– उहाँले प्रश्न गर्नुभयो । मुलुकले समाजवादउन्मुख अर्थनीति अंगिकार गरेकाले अब नेपाल मिडियाले पनि कुन बाटो लिने भनेर बहस हुनु अस्वाभाविक नभएको उहाँले बताउनुभयो ।

भारतमै पनि राष्ट्रियताको मुद्दामा मिडियाले एकताबद्ध गराउने गरेको औल्याउँदै उहाँले नेपालमा भने त्यस्तो नभएकाले अब मिडिया अधिकारमा मात्र होइन कर्तव्यमा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्