प्रिमियर गल्फमा एमेच्योर सुवासको अग्रता



काठमाडौं, (नेस)
एमेच्योर सुवास तामाङले ३ अन्डर ६९ को स्कोर बनाएर गोकर्ण गल्फ क्लबमा जारी सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा अग्रता लिएका छन् ।

मंगलबार सुवासले अघिल्ला दिनका शीर्ष खेलाडी जयराम श्रेष्ठलाई २ स्ट्रोकले पछाडि पारेर अग्रता लिएका हुन् । सुवासले दुई दिनमा ६ अन्डर १ सय ३८ अंक जोडे भने जयरामले ४ अन्डर १ सय ४० स्कोर गरेका थिए । त्यस्तै अर्का एमेच्योर खेलाडी सुक्रबहादुर राईले सानदार कार्ड बनाएका थिए । उनले हिजो ६ अन्डर ६६ स्कोर बनाएका थिए जबकी जयरामले ७२ लेभल पार खेलेका थिए । दुबै जनाले समान अंक जोडेका छन् ।

यसैगरी रमेश अधिकारीले ५ अन्डर ६७ स्कोर गर्दै समग्रमा ३ अन्डर १ सय ४१ अंक जोडेका थिए । त्यस्तै भुवन नगरकोटी र धनबहादुर थापाले समान १ सय ४२ अंक जोड्दा भुवनले ५ अन्डर ६७ अंकको सानदार खेल प्रस्तुत गरेका थिए ।

पहिलो दिन जयरामसँग १ स्ट्रोकले पछि परेका सुवासले पहिलो ९ होलमा २ अन्डर ३४ को प्रदर्शन गरेका थिए । तेस्रो होलमा इगल र छैटो होलमा बर्डी खेलेका थिए । पछाडिको ९ होलमा उनले १५औं होलमा इगल खेल्दा ११औं होलमा बर्डी खेले । तर १४औं र १७औं होलमा शट ड्रप गर्दा १ अन्डर ३५ मै खुम्चिनुपरेको थियो । तर जयरामले औसत प्रदर्शन गर्दा सुवासलाई फाइदा पुगेको थियो ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत यस सिजनको नवौ तथा अन्तिम प्रतियोगिताको विजेताले २ लाख ३० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो स्थान आउनेले क्रमशः १ लाख ४० हजार र ९५ हजार नगद पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्