१३ औं सागमा कृष्णसारको मस्कट



काठमाडौं, (नेस)
नेपालले अगामी डिसेम्बरमा आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सिंहदरबारस्थित खेलकुद मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । १३औं संस्करणको साग २०१९ डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना गरिने योजना रहेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ संयोजक रहेको लोगो छनोट समितिले प्राप्त ६ मध्ये मैतीदेवी बस्ने विराटनगर निवासी भोलानाथ पौड्यालद्वारा तयार गरिएको सिर्जनालाई सर्वसम्मतिले छनोट गरेको हो । यसको पुरस्कार रकम १ लाख नगद रहेको छ । यो सँगैं कृष्णसारको मस्कट आगामी सागमा प्रयोग हुनेछ ।

सार्क राष्ट्रका खेलाडी मार्फत राष्ट्र तथा जनस्तरमा आपसी मित्रता र भाइचारा अभिबृद्धि गर्ने उत्सवका रुपमा लिइने मर्मलाई ध्यानमा राखि तयार गरिएको १३ औं सागको लोगोमा रहेको परेवाको आकृति एवं त्यसका प्रयुक्त रंगले शान्ति दर्शाउछ । पृष्ठभूमिमा रहेको सोही रंगले स्वच्छन्त रुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र राष्ट्रलाई प्रतिनिधित्व गराउने निश्चल हिमालका रुपमा अथ्र्याउछ ।

देब्रेतर्फ राखिएको प्वाँखकृतिले परेवारुपी आकृतिलाई मास्तिर उड्न गति प्रदान गरेको भने प्वाँखरुपी सात आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गरेको छ । सात प्वाँखले रंगशालाको ट्रयाकलाई समेत दर्शाउछ भने त्यसमा प्रयुक्त रंगले सम्बन्धित राष्ट्रको झण्डालाई प्रतिनिधित्व गरेको छ । लोगोमा राखिएको अक्षर र अंकले सागको १३ औं संस्करण, सागको पूर्ण नाम, वर्ष, मिति र स्थानलाई जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्