जुडोकी फुपु २०२० सम्म निलम्बनमै



काठमाडौं, (नेस)
ओलम्पियन जुडो खेलाडी फुपुल्हामु खत्रीको करियर अहिलेलाई सन् २०२० ओलम्पिक खेलकुदसम्म निलम्बनमा परेको छ ।

नेपाल जुडो संघले सोमबार प्रेस विज्ञप्तिमार्फत् सोको जानकारी गराएको हो । जापानमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) अन्तर्गतको आईओसी सोलीडारिटी कार्यक्रम दौरान बीचैमा प्रशिक्षण छाडेर नेपाल फर्केपछि फुपुलाई संघले यसअघि नै निलम्बन गरेको थियो । संघले हिजो भने गत फागुन १० गतेको बैठकको निर्णयको आधार बनाइ निलम्बन गरेको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेपछि यो निर्णय आधिकारिक भएको छ ।

योसँगै फुपुको लागि सन् २०२० सम्म कुनै पनि प्रतियोगितामा खेल्न ढोका बन्द भएको छ । साथै उनले डिसेम्बरमा नेपालमै हुने १३औं सागमा पनि खेल्न पाउने छैनन् । उनले १२औं सागमा स्वर्ण जितेकी थिइन् । यसबारे संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले नेपाल समाचारपत्रलाई बताए—हामीले उनलाई जापानबाट नेपाल आउन सबै मिलाइसकेका थियौ । तर उनी सुटुक्क नेपाल आएपछि उतैबाट प्राप्त प्रतिवेदनको आधारमा उनलाई हामीले बाध्य भएर २०२० सम्मको लागि निलम्बन गर्नु परेको हो । त्यसरी कसैलाई केही नभनि आउन मिल्दैन । यसको लागि स्टेकहोल्डरसँग स्विकृति लिनुपर्छ । प्रक्रिया मिलाएर मात्रै आउन सकिन्छ ।

फुपुले जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षण रहेको बेलाको प्रतिवेदनको आधारमा र जापान ओलम्पिक कमिटीले उक्त प्रशिक्षण बन्द गरेको पत्र र संघको स्वीकृति, उद्देश्य र हित विपरित कार्य गरेकोले उनलाई निलम्बन गरेको आधार संघले आधार प्रस्तुत गरेको छ ।

जापानको कोदोेकानमा फुपुले गत अप्रिलदेखि प्रशिक्षण लिँदै आएकी थिइन् । त्यहाँ २०२० मा जापानमै हुने ओलम्पिककै लागि भनेर उनलाई प्रशिक्षणमा संघले पठाएको थियो । त्यहाँ ५ वटा स्टेकहोल्डर जापान ओलम्पिक कमिटी, कोडोकान, अल जापान जुडो महासंघ, युनिभर्सिटी अफ ल र कोचकै सहयोगमा फुपुसहित ५ जनालाई विशेष प्रशिक्षण दिएको थियो । जसमा फुपु नेपालकी हुन् भने अन्य चार जना जापानकै हुन् ।

संघका अध्यक्ष वज्राचार्यको अुनसार त्यहाँबाट ४३ पानाको प्रतिवेदन र कोचको १३ पानाको प्रतिवेदन संघलाई प्राप्त भएको थियो । उनले बताए—यही प्रतिवेदनकै आधारमा हामीले कार्वाही गरेका हौं । यसले गर्दा हामीले मनिता श्रेष्ठ प्रधानलाई त्यहाँ प्रशिक्षण पठाउन पनि अलमलमा परिरहेका छौ । उनको पनि जापानमा प्रशिक्षण लिने फुपुसँगै कुरा मिलेको थियो । तर उनी यहाँ १० कक्षामा पढीरहेकोले त्यतिबेला मिलेन । अहिले यो कार्यक्रम नै बन्द गरेको हामीलाई पत्र प्राप्त भएको छ ।

फुपुले भने पटकपटक फोन गर्दा पनि कुनै सुनुवाई नभएको नेपाल समाचारपत्रलाई बताइन् । उनले भनिन्—त्यहाँ बस्नै नसक्ने भयो । प्रशिक्षणमा असहज महसुस हुँदै गएको थियो । नेपालमा मैले सम्बन्धित निकायलाई नेपाल फर्काइदिन आग्रह गरेकी नै हु । अहिले मलाई यहाँ निलम्बन गरिदियो । मैले त्यस्तो कुनै नराम्रो काम गरेको छु जस्तो लाग्दैन । हो ओलम्पिक कमिटीले मलाई भेट्न आउ भनेको थियो । तर त्यतिबेला म भेट्न जान सकिएन । मेरी मुमा बिरामी भएकोले मैले ओलम्पिक कमिटीमा जान नसकेको हो । अझ राष्ट्रिय खेलकुद भइरहँदा पनि मलाई कसैले वास्ता गरेन । साथीहरु खेलेको हेरेर घरमै बसिरहनु प¥यो । कसैले मलाई बोलाएन ।
प्रशिक्षक विदेश पलायन

खेलाडी बीचैमा प्रशिक्षण छाडेर नेपाल फर्केकोे घटनासँगै जुडोका प्रशिक्षक रमेश मगर विदेश पलायन भएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ एकेडेमी लेभल वानको ११ हप्ताको सैद्धान्तिक परीक्षामा उत्तीर्ण भएर प्रयोगात्मक परीक्षामा सहभागि हुने क्रममा उनी विदेशमै पलायन भएको संघले जनायो । यही वैशाख २० गते बसेको बैठकको निर्णयअनुसार उनलाई १० वर्षसम्म जुडोसम्बन्धी कुनै पनि कार्यक्रममा सहभागि नगराउने भएको छ ।

संघका अध्यक्ष वज्राचार्यले उनले राष्ट्रकै हित विपरित काम गरेकोले निलम्बन गरेको बताए । उनले भने—नेपालमा राम्रै जागिर भएको मान्छे हो रमेश । राष्ट्रिय खेलकुद परिषदमा जागिरे, जुडो संघमा प्रशिक्षक तापनि उनले १२ औं लेभलको प्रयोगात्मक परीक्षामा सामेल नै भएन । उनी त हंगेरीमा नै गएन । सुने अनुसार उनी फ्रान्समा गएका छन् । त्यही आर्मीमा भर्ना भएको सुनेको छु । यसरी नेपालको पैसा खेर फाले उनले । बरु जाने हो भने सबै कोर्स सकाएर गएको भए भइहाल्छ ।

प्रतिक्रिया दिनुहोस्