क्याम्पसमा राजनीति बन्द गर



सिन्धुलीको बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठनसँगै शैक्षिक सुधार र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिए पनि राजनीतिक खिचातानी र प्रभावका कारण क्याम्पसको विकासमा अवरोध सिर्जना भएको छ ।

पूर्वकृषिमन्त्री एवं सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघीय सांसद हरिबोल गजुरेलको नेतृत्वमा समिति गठन भएपछि क्याम्पसले प्रभावशाली नेताबाट अभिभावकत्व पाए पनि विवाद देखिँदै आएको छ । विना कुनै छलफल सञ्चालक समितिको बैठक बस्नु, नेकपाभित्र नै नेतृत्वकर्ताको विरोध हुनु र सञ्चालक समितिको अपरिपक्वताले क्याम्पसको समग्र विकासका लागि अझै धेरै समय पर्खनुपर्ने देखाएको छ ।

गजुरेलको नेतृत्वमा समिति गठन भएपछि नेकपाकै प्रदेश सांसदले विरोध गरेका थिए । यस्तो अवस्थामा सञ्चालक समितिको पहिलो बैठक बस्दा उनीहरुलाई कुनै अत्तोपत्तो नदिनु र आफूखुशी बैठक डाक्दा समस्या झनै बल्झिएको छ । शैक्षिक सुधारका लागि सञ्चालक समितिको भूमिका महत्वपूर्ण हुन्छ । तर, आन्तरिक समस्याका कारण सञ्चालक समितिले फलदायी काम अघि बढाउन सकिरहेको छैन ।

तसर्थ, बुहुमुखी क्याम्पसमा देखिएको राजनीतिक प्रभाव र आन्तरिक समस्याको हल गरेर क्याम्पसको समग्र विकासमा गम्भीर हुन आवश्यक छ । सिन्धुली बहुमुखी क्याम्पसमा बृहत् सुधार आवश्यक रहेकाले आगामी दिनमा क्याम्पसको शैक्षिक सुधार र व्यवस्थापनमा सञ्चालक समितिले विशेष ध्यान दिन आवश्यक छ । अतः एकलौटीरुपमा क्याम्पस हाँक्ने भन्दा पनि छलफलबाट सहमतिमा क्याम्पसको विकास र सुधारमा सम्बन्धित सबै पक्ष लाग्न जरुरी छ ।
– भरत खरेल, सिन्धुली । हाल: दोहा, कतार ।

प्रतिक्रिया दिनुहोस्