सागका पदक विजेता फुपु र रमेशमाथि प्रतिबन्ध



काठमाडौं । नेपाल जुडो संघले दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्यामु खत्री र कास्य विजेता रमेश मगरलाई प्रतिबन्ध लगाएको छ। फुपुलाई टोकियो ओलम्पिक २०२० र रमेशलाई १० वर्षको प्रतिबन्ध लगाइएको हो।

फुपुलाई गत फागुन १० गते बसेको बैठक र रमेशलाई गत बैशाख २० गते बसेको बैठकले कारबाही गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन्।

फुपु आइओसी सोलिडारी कार्यक्रमअनुसार जापानमा प्रशिक्षणमा गएकी थिइन्। तर उनी समयावधी भन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्केकाले कारबाही गरेको जुडो संघले जनाएको छ।

साथै जापानमा प्रशिक्षणमा रहेको बेलाको रिर्पोटको आधार र जापान ओलम्पिक कमिटीले उक्त प्रशिक्षण कार्यक्रम बन्द गरेको पत्र र संघको स्वीकृती, उद्देश्य र हित विपरित कार्य गरेको फुपुमाथि आरोप छ। संघले फुपुलाई आगामी टोकियो ओलम्पिक्स २०२० सम्म कुनै पनि जुडो सम्बन्धी कार्यक्रममा सहभागि नगराउने गरि प्रतिबन्ध लगाएको छ।

यता आइजेएफ एकेडेमी लेभल–१ को ११ हप्ते परीक्षामा उतिर्ण भएका रमेश प्रयोगात्मक परीक्षाका लागि हंगेरी गएका थिए। गत अप्रील १४ मा हंगरी गएका रमेश उतै पलायन भएको जुडो संघको दाबी छ।

‘उक्त परीक्षामा सहभागि नभई विदेशमा नै पलायन भै देशको छवि तथा नेपाल जुडो संघको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको हुँदा निजलाई १० वर्षसम्म जुडो सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागि नगराउने निर्णय गरिएको जानकारी गर्दछु,’  जुडो संघको भनाइ छ।

फुपुले सन् २०१६ मा भारतमा भएको साग गेम्समा स्वर्ण जितेकी थिइन्। त्यहि वर्ष फुपुले रियो ओलम्पिक पनि सहभागिता जनाएकी थिइन्।

नेपाली जुडोकी आसालाग्दी खेलाडी फुपुलाई जुडो संघ र ओलम्पिक कमिटीको सिफारिसमा जापान पठाइएको थियो। ८ महिना जापानमा प्रशिक्षण गरेकी फुपुले मानसिक रुपमा तनावमा रहेकाले नेपाल फर्किएको बताउँदै आएकी थिइन्। सम्बन्धित व्यक्तिहरुलाई धेरै पटक सन्देश पठाएको बताएकी उनले जापानामा बस्न नसकेर स्वदेश फर्किएको बताएकी थिइन्।

नेपाली जुडो टिमका आसा गरिएका खेलाडी रमेश सन् २०१० मा बंगलादेशमा भएको साग गेम्सअघि लिफ्ट दुर्घटनामा घाइते भएका थिए।

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए। जसकारण उनको बंगलादेशमै शल्यक्रिया गरिएको थियो।

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन्। दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा भुलाएका थिए। सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको गत वर्ष खुट्टाको अप्रेसन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्