यस्ता पाइलट जसले गरे ल्याण्डिङ चक्काबिनै जहाज अवतरण



म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन।

त्यसपछि पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई दुर्घटना हुनबाट जोगाए। जहाज रोकिएको केहीबेरमा यात्रु र चालक दलका ८२ जनालाई तत्काल बाहिर निकालिएको थियो।

‘पाइलटले गज्जब काम गरे,’ म्यानमानरको यातायात र सञ्चार मन्त्रालयका सचिव विन खान्टले भने।

जहाजका पाइलट क्याप्टेन म्यात मोङ आङ यसअघि दुई पटक उक्त विमानस्थल गएका थिए।

ल्याण्डिङ गेयरले काम नगरेको थाहा पाएपछि उनले पहिला जहाजको इन्धन सकेका थिए किनकी धेरै इन्धनमा ल्याण्ड गर्दा भार बढी हुन्छ।

सचिव विन खान्टले घटनाको छानबिन भइरहेको जानकारी दिएका छन्।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्