मुम्बई चौथो पटक पनि आइपीएल च्याम्पियन, चेन्नाई १ रनले पराजित



काठमाडाैं । मुम्बई इंण्डियन्सले चौथो पटक इंण्डियन प्रिमियर लिग(आइपीएल)को उपाधि उचालेको छ।

आइतबार भएको १२ औं संस्करणको रोमाञ्चक फाइनलमा चेन्नाई सुपरकिंग्सलाई १ रनले पराजित गरेसँगै मुम्बईले चौथो पटक आइपीएलको उपाधि जितेको हो।

योसँगै मुम्बई आइपीएलको सबैभन्दा सफल टोली बनेको छ। यसअघि मुम्बई र चेन्नाईले समान ३-३ पटक आइपीएलको उपाधि उचालेका थिए।

हैदरावादमा सम्पन्न फाइनलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रनमात्रै बनाउँन सक्यो।

अन्तिम ओभरमा  चेन्नाईलाई जितका लागि ९ रन आवश्यक थियो तर उसले २ विकेट गुमाउँदै ७ रनमात्रै बनाउँन सक्यो। अनुभवी लसिथ मलिंगाले पहिलो बलमा शेन वाटसनलाई १ रन, दोस्रो बलमा  रविन्द्र जडेजालाई दुई रनमात्र दिए।

मलिंगाको तेस्रो बलमा ८० रनमा खेलिरहेका वाटशन रनआउट भएपछि खेल रोमाञ्चक बन्यो। अन्तिम दुई बलमा चेन्नाईलाई ४ रन आवश्यक थियो। पाँचौं बलमा भर्खरै क्रिजमा आएका शर्दुल ठाकुरले २ रन लिए।

अन्तिम बलमा चेन्नाईलाई जितका लागि २ रन आवश्यक भएपनि सुन्दर योर्कर फाल्दै मलिंगाले ठाकुरलाई एलबिडब्लुको सिकार पारे।

हारसँगै चेन्नाईले पनि लगातार उपाधि उचाल्ने र चौथो पटक च्याम्पियन बन्ने अवसर गुमाएको छ।

चेन्नाईका लागि वाटशनले बाहेक फाफ डुप्लिसले २६ र डुविन बाब्रोले १५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। चेन्नाईका सुरेश रैना ८, अम्बाति राईडु १, महेन्द्रसिंह धोनी २ रनमै पवेलियन फर्किएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो। उसका किरण पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन जोडे।

त्यसबाहेक क्विन्टक डि ककले २९, इशान किसनले २३, हार्दिक पाण्ड्याले १६ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्