मेट गाला २०१९ मा रंगी बिरंगी सेलिब्रेटी



हरेक वर्षको मे महिनामा अमेरिकाको न्युयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा मेट गाला नामक फेसन समारोह कार्यक्रम गरिन्छ, जुन समारोह फेसनको संसारमा सबैभन्दा चर्चित र प्रतिष्ठित मानिन्छ।

संसारभरका सेलीब्रेटीको सहभागिता रहने समारोहमा उनीहरू आफँलाई फरकरूपमा प्रस्तुत गर्ने होडाबाजीमा देखिन्छन्। यसलाई सबैभन्दा महँगो टिकट राखिएको फेसन शोका रूपमा पनि चिनिन्छ, जसको टिकटको मँल्य करिब ३५ हजार डलर लाग्ने र टेबल बुकिङका लागि २ लाख ७५ हजार डलर शुल्क तोकिएको छ। यस फेसन समारोहमा हरेक वर्ष एक नयाँ थिममा आधारित पहिरन पहिरिनुपर्ने हुन्छ, जहाँ चर्चित सेलिबे्रटीहरू आफँलाई फरक देखाउने कोसिस गर्छन्। यस वर्ष मेट गालाको थिम अमेरिकी लेखक, फिल्मकर्मी तथा राजनीतिक अभियन्ता सुसेन सोटाङले १९६४ मा लेखेको निबन्ध नोट्स अन क्याम्पबाट प्रेरित थियो भने थिमको नाम क्याम्प ः नोट्स अन फेसन राखिएको थियो। मेट गाला समारोहमा यस वर्षको थिमअनुसार सेलिब्रिटीले रमाइलो, प्यारोडी, नाटकीय तथा आइरोनीकलरूपमा प्रस्तुत हुनुपर्ने र सोहीअनुसारका कपडा पहिरिएर आउनुपर्ने प्रावधान राखिएको थियो।

ओस्कार एकेडेमी अवार्ड विजेता अमेरिकी गायिका लेडी गागादेखि बलिउड र हलिउडमा समेत आफ्नो सहभागिता जनाइसकेका भारतीय सुन्दरीहरू प्रियंका चोपडा तथा दीपिका पादुकोण सहभागी भएको मेट गाला समारोहमा पहिरन र मेकअपका कारण केही सेलिब्रेटी चर्चामा रहे।

लेडी गागा समारोहमै कपडा फेरेको फे¥यै
यस वर्ष मेट गालाको शुरूआत ओस्कार विजेता गायिका लेडी गागाबाट शुरू भयो। समारोहमा यसपटक पनि सदाझंै गागाले केही नयाँ कुरा गर्ने कोसिस गरिन्। विशेष कपडा र मेक अपका कारण उनी चर्चामा रहिन्। यसपटक २४ फिट लम्बाइको गाउन लगाएर समारोहमा पुगेकी गागाले समारोहबीच नै एकपछि अर्को गर्दै ४ पटक आफ्नो कपडा बदलेर सबैलाई आश्चर्यचकित बनाइदिइन्।

आफ्नो अलग अलग लुक्सको कारण यसपटक पनि उनी संसारभर चर्चाको विषय बन्न पुगिन्। सबैभन्दा पहिले गुलाबी रङको गाउनमा इन्ट्री गरेकी उनले कालो रङको गाउन फेरेर फोटोग्राफरलाई पोज दिन थालिन्। उक्त कालो गाउन उतारेर फेरि अर्को गुलाबी वान पिसमा देखिएकी गागाले शरीरबाट उक्त गाउन पनि उतार्दा केबल कालो बिकनी मात्र बाँकी थियो। उति नै बेला उनले कालै रङको हाई हिल लगाएर पोज दिइन्।

प्रियंका चोपडाको हेयर स्टाइल विरप्पनको जुंगाजस्तो
मेट गालामा बलिउड नायिका प्रियंका चोपडा आफ्नो पति निक जोनसका साथ पुगेकी थिइन्, जहाँ निक सेतो रङको कोट पाइन्टमा सजिएर गएका थिए भने प्रियंकाले सफ्ट पेस्टल गाउन लगाएकी थिइन्। उनको गाउनमा पहेंलो र गुलाबी फेदर लगाइएको थियो। उनले लगाएको गाउनको मँल्य करिब ४५ लाख भारतीय रुपियाँ भनिएको छ, जसलाई तयार पार्न करिब १५ सय घण्टा लागेको थियो। उनले कानमा लगाएको हीराको गहनाको मँल्य करिब १० लाख भएको बताइएको छ। उनको मेकअप र कपडा फरक शैलीको थियो।

तर उनको मेक अप र हेयर स्टाइलका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छिन्। यही विषयमा सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले उनलाई ट्रोल बनाइरहेका छन्। उनको कपालको स्टाइललाई केही मानिसले साई बाबाको कपाल भनेका छन् भने केहीले भने भारतीय डाँकु विरप्पनको जुंगासँग तुलना गर्दै मजाक बनाइरहेका छन्।

कार्डी बीको गाउन ट्रोलमा


अमेरिकन गायिका कार्डी बी पनि मेट गालामा आफ्नो लुक्सलाई लिएर नराम्रोसँग ट्रोल भइरहेकी छिन्। मरुन कलरको गाउनमा सजिएर गएकी कार्डीको गाउनमा गाँसिएको टेलले उनको लुक्सलाई फरक देखाए पनि यस रूपलाई लिएर सामाजिक सञ्जालमा उनलाई निकै मजाकको विषय बनाइयो।

केटी पेरीको पहिरन वर्गरजस्तो
अमेरिकन गायिका केटी पेरी आफ्नो फेशन सेन्सका लागि चर्चामा रहने गर्छिन्। आफ्नो फेशन दुनियाँलाई देखाउने सबैभन्दा राम्रँे अवसर मेट गाला त उनले छुटाउने कुरै भएन।

उनी आफँलाई फरकरूपमा प्रस्तुत गर्नका लागि पहिले बलिरहेको मैनबत्तीसहितको स्ट्याड आफ्नो शरीर वरिपरि र टाउकोमा राखेर पिंक कार्पेटमा प्रवेश गरिन्। त्यसपछि दुरुस्तै बर्गर आकारको कपडा लगाएर सबैलाई भोक जगाइदिइन्। उनको यो अजीव फेशनलाई लिएर सामाजिक सञ्जालमा मजाक उडाइयो।

दीपिकाको अनौठो हेयर स्टाइल
बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पनि मेट गालामा सहभागी भइन्। मेट गालाको पिंक कार्पेटमा दीपिका जसरी पुगिन्, सबैको ध्यान उनीतिर गयो।

उनी करिब १ सय ६० घण्टा लगाएर तयार गरिएको गुलाबी रङको विशेष स्ट्रापलेस गाउनमा सजिएर पुगेकी थिइन्। दीपिकाको फरक हेयर स्टाइलका कारण सबैको ध्यान उनीतिरै गएको थियो। अलग देखिने चक्करमा दीपिका पनि कपालका कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्