पुस्तक चर्चा: पहाडीका वजनदार रोजा कथाहरु



ज्ञानमणि नेपाल कालोटोपी
कथाकार किशोर पहाडीको पछिल्लो कथासंग्रह रोजा कथाहरुमा ३१ वटा कथाहरु समावेश गरिएका छन् । सबै कथाहरु वजनदार नै छन् । सबैले केही न केही सन्देश पनि दिन खोजेका छन् । समाजमा हुने गरेका, हुन सक्ने र भइरहेका जति पनि घटनाक्रमहरु छन् ती सबैलाई लेखकले क्रमैसँग कथाका रुपमा उतारेका छन् । पढ्दै गर्दा लाग्छ, यी कथा मात्र होइनन्, मान्छेको जिन्दगीमा आउने गरेका वास्तविकता पनि हुन् । कतै त लाग्छ, लेखकले आफ्नै भोगाइ पनि कथाका रुपमा उतारेका पो हुन् कि !

अचानक कथाले समाजमा व्याप्त शासकको हठ र जिद्दीपना तथा घमण्डलाई घतलाग्दो पाराले उतारेको छ । अबोध कथाले बालबालिकाको कलिलो दिमागले अभिभावकले भनेका कुराहरुलाई सहजै पत्यार गर्ने र बालबालिकालाई झुटो बोल्ने अभिभावकहरु सचेत हुनुपर्ने शिक्षा दिएको छ ।

छोराछोरीका मागलाई विभिन्न बहाना बनाएर पन्छिने बाबुआमाहरुको प्रतिनिधिका रुपमा उदय र बालसोचाइको प्रतिनिधि उसकी सानी छोरी उमाले गरेकी छन् । यस्तै अर्धाङ्गिनी र सिपाही कथामा समाजमा वैदेशिक रोजगारी बाध्यता भएको र यसले विकृति पनि उस्तै भित्र्याएको प्रसंगको रोचक प्रस्तुति पाइन्छ । श्रीमान् वा श्रीमतीमध्ये एउटाको अनुपस्थितिमा उनीहरु परपुरुष वा परस्त्रीसँग कसरी लसपस हुन सक्छन् भन्ने उदाहरणको रुपमा यो कथा रहेको छ ।

मोटरसाइकल किनेको सानो कथावस्तुले मानवहठसँगै आउने समस्या र अरुको सामानमा मोजमस्ती गर्ने आफन्तको मनोवृत्ति देखाउन उत्कण्ठा कथा सफल भएको छ । खिसी कथाले शहरमा गएपछि त के–के न पाइन्छ भन्ने सोचाइ भएर शहर छिरेपछि अभावको जिन्दगी जिउन बाध्य हजारौंको दैनिकीलाई प्रकाश पारेको छ । खुर्पा र आत्महत्याको सम्भावना, जाँड र जाँडको कीरा, निकटता, पराजित, मुस्कान, यन्त्र, रस, शहरको एउटा बङ्गलालगायतका कथाहरु पनि कम रोचक छैनन् ।

‘आत्महत्या गर्नुपर्ने के त्यस्तो घटना परेको थियो ? किन आत्महत्या गरेको रघुले ? तर लाग्यो, घटना हैन, दुर्घटना परेको थियो । ऊ जन्मनु दुर्घटना थियो । त्यसपछि बाँच्नु दुर्घटना भयो, अनि पढ्नु दुर्घटना, जागिर खोजेर नपाउनु दुर्घटना, दुर्घटनै दुर्घटना । यस्तो मान्छेले जाँड खानु र आत्महत्या गर्नुबाहेक के नै गरोस् त ?’ कथा जाँड र जाँडको कीराबाट उद्धृत अंश हो यो ।

डोरी कथाले शौचालयको ढोकामा चाहिने चुकुल नहालेर डोरी बाँधेर यसलाई सामान्य सोच्दा त्यही सामान्य वस्तुको अभावले पनि कति समस्या आउन सक्छ भन्ने विषयलाई साह्रै मार्मिक पाराले दर्शाएको छ । यसरी हेर्दा रोजा कथाहरु साँच्चै नै रोचक लाग्छन् । साना विषयहरुले पनि ठूलो महत्व पाएका छन् अनि समाजलाई सही मार्गमा हिँड्न सिकाएका छन् ।

यति भएर पनि कतै–कतै भने भाषाशैली बुझ्न समस्या नै पर्ने पनि देखिन्छ । केही कथामा विषयवस्तु र शीर्षकबीच तालमेल नमिलेको जस्तो पनि लाग्न सक्छ । कतै–कतै व्याकरणीय कमजोरी पनि कथामा भेट्न सकिन्छ । सय प्रतिशत नै शुद्ध सुन त हुँदैन, लेखनशैली हो, कतै कमजोरी हुनु स्वाभाविक पनि हो । समग्रमा कृति उत्कृष्ट बनेको छ । शिखा बुक्सले बजारमा ल्याएको यसको मूल्य रु. ३५०।– राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्