देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै



काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने भएपछि प्राधिकरणले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तारहरू काट्ने भएको हो ।

विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्‍याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने सेवा प्रदायकको गुनासो छ ।

प्राधिकरणले एकलौटी रुपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि उर्जा, अर्थ र सञ्‍चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि तार काटिने अवस्थामा पुगेको बताइएको छ ।

टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाइ प्राधिकरणले नयाँ भाडा दरमा सम्झौता गर्न सात दिनको समयसीमा तोकेको थियो । उक्त समय सीमा शुक्रबार सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्