महोत्सवमा घाँटु र कृष्ण चरित्रको रौनक



लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको २०औं घलेगाउँ महोत्सवमा घाँटु र कृष्णचरित्रको रौनक छाएको छ। नेपालकै पहिलो स्मार्ट भिलेज ग्रामिण पर्यटकीय घलेगाउँमा आयोजित महोत्सवका अवसरमा गुरुङ जातिमा पाइने लोपोन्मुख कला, नृत्यको प्रदर्शन गरिएको हो।

लमजुङको उत्तरपश्चिम क्षेत्रमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ स्थित घलेगाउँको महोत्सवमा गुरुङ संस्कृतिको लोपोन्मुख घाँटु र कृष्णचरित्रका नाँच नचाइएको थियो। दर्शक ती नाच हेरेर रमाए। हरेक वर्ष वैशाख पूर्णिमाको दिन गुरुङ गाउँमा राजा परशुराम र रानी यम्फावतीको जीवन कहानीमा आधारित घाँटु नृत्य नाच्ने प्रचलन रहेको गुरुङ संस्कृतिका धरोहर मानिने स्थानीय ७९ वर्षीय सुवेदार लिलबहादुर घलेले बताए। उनका अनुसार कृष्णचरित्र भने गुरुङ समुदायको जेठो छोराको शुभकार्य पुटपुटेका अवसरमा पनि नाच्ने गरिन्छ।

घलेगाउँको बदलिँदो पर्यटन प्रवद्र्धनका तौरतरिका, व्यवस्थापन यो वर्ष स्मार्ट भिलेजको घोषणासँगै फेरिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए। उनका अनुसार महोत्सवमा गुरुङ लोपोन्मुख संस्कृति घाँटु, कृष्णचरित्रका अलावा सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्रलगायत नाच्ने काम गरिएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रतिभा देखाइरहेका छन्। महोत्सवमा नृत्य तथा गुरुङ संस्कृतिका अतिरिक्त गुरुङ खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, पौराणिक हास्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, होमस्टेसम्बन्धी कार्यशालालगायत यसपटकको घलेगाउँ महोत्सवका आकर्षण रहेका छन्। कार्यक्रममा अन्य नृत्य पनि प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्