विदेशी फुटबलमा पनि प्रभाव जमाएकी सावित्रा



फिरोज राजोपाध्याय ।
नेपालको फुटबलमा आजभोलि चर्चित बनेकी खेलाडी हुन् सावित्रा भण्डारी । महिला फुटबलमा जमेर उनी विदेशी भुमिमा समेत सानदार खेल देखाइरहेकी छिन् उनले । उनको राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा निकै रवाफ रहेको छ । म्यानमारमा होस या भुटानमा होस या भारतमै होस या थाइल्यान्डमै होस सावित्राको जादु अन्तर्राष्ट्रियमा निकै चलेको छ । नेपालबाहिर उनको प्रदर्शनले गर्दा नै भारतीय महिला फुटबल लिगको क्लब सेथु एफसीमा उनको प्रवेश भएको छ । जुन शुरुवातमै सानदार रह्यो ।

यसै सातादेखि शुरु भएको भारतीय महिला लिग फुटबलमा सावित्राले सेथुलाई जितबाट शुरुवात दिलाएकी थिइन् । मणिपुर पुलिसविरुद्ध १० गोलको सनसनीमा सेथुले ६–४ गोलअन्तरले जितेको थियो । जसमा सावित्रा नभएको भए शायद यो खेलमा सेथु जित्ने थिएन । किनभने सावित्रा एक्लैले ४ गोल गरेकी थिइन् । पहिलो गोल त २९ सेकेण्डमै उनले गरिन् । जुन भारतीय महिला लिगको यस सिजनमा सबैभन्दा छिटो गोल पनि सावित भयो । उनी प्लेयर अफ द म्याच समेत घोषित भइन् ।

पहिलो खेलमै भारतीय फुटबलमा जमेकी सावित्राको प्रशंसा नेपालमा हुनु स्वाभाविक नै हो । विभिन्न भारतीय अखबारले समेत सावित्राको प्रशंसा गरिनु नेपाली फुटबल र खेलकुदको गौरवकोे विषय बन्यो । यसले के देखाउँछ भने यदि मेहनतका साथ खेल्दै गएमा नेपाली खेलाडीको विदेशमा खेल्ने मौका हुनेछ । यसअघि सावित्राले माल्दिभ्सको महिला फुटबल प्रतियोगितामा खेलेकी थिइन् ।

सावित्रा क्रिस्टियानो रोनाल्डोको प्रशंसक पनि हुन् । गोल सेलिब्रेसन उनको उस्तै छ । जसो गोल गरेपछि रोनाल्डो कर्नरमा गएर गोलको सेलिब्रेसन गर्छन् । त्यस्तै सावित्राले पनि गरेकी छिन् । यसमा उनका प्रशंसकलाई समेत खुशीको लहर दिलाउँछ । नेपालमा पुरुष फुटबललाई धेरै मौका दिइरहेको हुन्छ । तर महिलाको लागि न मोफसलमा प्रतियोगिता हुन्छ न लिग नै हुन्छ । अहिले सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग शुरु गर्न सकेको छैन । यसको बावजुद सावित्रा, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, रेखा पौडेल जस्तो खेलाडीले उच्चस्तरीयको खेल देखाएका छन् ।

साम्बा उपनामबाट चर्चित सावित्रालाई गोलको मेशिन पनि भनिन्छ । उनले २८ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेको सूचीमा अनु लामा पहिलो स्थानमा छिन् । उनले फुटबल छाडिसकेकी छिन् । उनले ३५ गोल गरेकी छिन् भने सावित्राले २८ गोल गरेकी छिन् । सावित्राको गोल गर्ने क्रम भइरहेकोले भविष्यमा अनुको कीर्तिमान पनि तोड्न धेरै बेर लाग्नेछैन । सावित्राले हालै विराटनगरमा भएको पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा जमुना गुरुङको कीर्तिमान तोडेकी हुन् । जमुनाले २५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले समेत सावित्राबारे भन्नुभएको छ । सावित्रा एक निकै प्रतिभा भएकी फरवार्ड हुन् । यहाँ मात्रै होइन दक्षिण एशियामै एक उत्कृष्ट स्ट्राइकर हुन् । उनको स्पीडसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैनन् । उनले नेपाली महिला फुटबलमा कीर्तिमान राख्दै जाने देखेको छु ।

लमजुङमा जन्मेकी सावित्रा शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लबसँग आबद्ध रहेकी छिन् । उनले नेपालको महिला फुटबल प्रतियोगितामा एपीएफलाई उपाधि पनि दिलाइरहेकी छिन् । सावित्राले. १२ वर्षको उमेरदेखि फुटबल खेल्न शुरु गरेकी हुन् । उनको गाउँमा केटीहरुले फुटबल खेल्न हुँदैन भन्ने चलन छ । तर उनले विद्यार्थी समयदेखि नै फुटबललाई आफ्नो रुचि बनाएकी थिइन् । उनले फुटबलसँगै भलिबल पनि खेल्थिन् । पछि उनले फुटबललाई नै प्राथमिकता दिँदै अन्ततः उनी नेपालकी सुपरस्टार फुटबलर बनिन् ।

गाउँबाट हुँदै काठमाडौं आएकी सावित्राले २०७१ सालमा एपीएफ क्लबसँग आबद्ध हुन सौभाग्य प्राप्त गरिन् । सावित्रालाई एन्फाले साफ च्याम्पियनसिपको लागि प्रशिक्षणमा राखिएको थियो । उनको राष्ट्रिय टोलीमा प्रवेश भयो । यहाँदेखि सावित्राले पछाडि फर्केर हेर्नु परेको छैन । उनको पहिलो अन्तराष्ट्रिय खेल भुटानविरुद्ध थियो । नेपालले भुटानलाई ८–० ले हराएकोमा सावित्राले चाथो मिनेटमै गोल गरेर सनसनी मच्चाएकी थिइन् ।

सावित्राले नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउन हेरिरहेकी छिन् । साफ च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीले समेत जित्न सकेको छैन । तर महिलाको हकमा भने साफ उपाधि भित्रिने संभावना धेरै छ । सावित्राले विराटनगरमा भएको साफ च्याम्पियनसिपको फाइनल हार्नुको पीडा खेपेकी छिन् । नेपाली टोली अझै भारतसँग परास्त हुँदै आएको छ । यो क्रम तोडन्को लागि अहिलेदेखि नै योजनाबद्ध जानुपर्ने सावित्राको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्