मन्त्रीको ताँती किन ?



सरकारले सम्पादन गर्ने कामलाई प्रभावकारी बनाउन मन्त्रालय गठन गरिन्छ । सकेसम्म सरकारले मन्त्रालय सानो संख्यामा बनाउँदा राम्रो । तर हाम्रो देशमा धेरैलाई खुसी बनाउन मन्त्रालयको संख्या ठूलो बनाउने गरिन्छ । सरकारमा ५० जना भन्दी बढी मन्त्री समेत भए । मन्त्रीको संख्या बढाउँदा राज्यलाई व्ययभार पनि त्यति नै थपिदैँ जाने भो ।

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्री आवश्यक हुन्छ । तर सरकारमा सहभागी मन्त्रीहरु भने उद्घाटन, सभा–सम्मेलन र गोष्ठीमा बढी समय खर्चिदै आएका छन् । मन्त्रीपरिषद्ले मन्त्रीहरुको कार्य क्षेत्र त तोकेको छ । मन्त्रीहरुले आफ्नो मन्त्रालयलाई राम्रो बनाउने मुख्य उद्देश्य हुनुपर्ने हो । नीति–निर्माणमार्फत नागरिकहरूको समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने हो । तर हाम्रो देशमा मन्त्री भएपछि आफ्नो कार्यक्षेत्र भन्दा पनि बाहिर गएर सस्तो लोकप्रियताका लागि भाषण दिने परम्पराले निरन्तरता पाइरहेकै छ ।

कामभन्दा पनि नारा र भाषणामा बढी विश्वास गर्ने प्रवृत्तिले अहिले सरकारको आलोचना हुने क्रम बढेको छ । मन्त्रीहरु सामान्य कार्यक्रममा पनि घण्टाँै बस्न सक्छन् । मन्त्रालयको उच्चस्तरका कर्मचारी सहभागी हुने कार्यक्रममा मन्त्रीहरू नै जान तछाडमछाड गर्छन् । मन्त्री भएपछि कुन कार्यक्रममा जाने कुन कार्यक्रममा नजाने तय न मन्त्रीले गर्नसकेका छन् ।

न मन्त्रीको सचिवालयमा बसेकाहरुले कार्यक्रमको प्राथमिकता निर्धारण गर्न सकेका छन् । मन्त्रीहरुको दौडधुप हेर्दा देश विकासको निकै गति लिएको छ । तर मन्त्रीहरू उपलब्धि नहुने कार्यक्रममा पनि समय बिताउदै आएका छन् । नीतिगत र कानुनी रूपमा सुधार गर्नुपर्ने काममा लाग्नुपर्ने मन्त्रीहरू विदेश भ्रमण र उद्घाटनमा नै बढी रमाउँदै आएका छन् ।

एउटै कार्यक्रममा आधा दर्जन भन्दा बढी मन्त्रीहरु सहभागी हुँदै आएका थिए । हुरीबाट घरबारविहिन भएका परिवारको पुनस्र्थापनाका लागि बारामा संघीय सरकार दस जना मन्त्री पुनः एउटै कार्यक्रममा सहभागी भएर नयाँ रेकर्ड राखेका छन् ।

विभागीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मात्र उद्घाटन गर्दा हुने कार्यक्रममा झण्डै एक दर्जन मन्त्रीहरु देखिनु राम्रो पक्ष होइन । राजनीतिक रुपमा आ–आफ्नो स्वार्थ होला । तर राज्यको स्रोत–साधनको दुरुपयोग हुने गरी एउटै कार्यक्रममा मन्त्रीहरु लर्को लाग्नु शोभनीय विषय होइन । सरकारले मन्त्रीहरुका लागि आचारसंहिता जारी नगर्दासम्म यस्ता समस्याहरू दोहोरिरहने छन् ।

प्रतिक्रिया दिनुहोस्