साहित्यिक पत्रकारका रूपमा दोस्रोचोटि दाङमा



मोहन दुवाल

राप्ती साहित्य परिषद्, दाङको आमन्त्रणमा २०५४ सालतिर दाङ पुगेको मलाई याद छ। जनकप्रसाद हुमागाईंलाई प्रमुख अतिथिका रूपमा डाकेको उक्त दाङको कार्यक्रममा मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको र हामीलाई साथ दिन कवि अनिल पौडेल हामीसँगै दाङ पुगेको मलाई याद आइरहन्छ। नारायणप्रसाद शर्मा दाङ क्षेत्रका वरिष्ठ पत्रकार, साहित्यिक पत्रकार हुनुका साथै प्रख्यात साहित्यकारका रूपमा राष्ट्रले चिनेको व्यक्तित्व हुन्। यिनैको निम्तोमा प्रथमपटक २१ वर्षअगाडि घोराही, दाङको साहित्यिक कार्यक्रममा विशेष अतिथि भई दाङ पुगेको स्मरण भइरहन्छ।

त्यसैले दाङ मेरो मानसपटलमा झुन्डिरहेको नाम हो। यही दाङमा पुग्नुपर्ने अनुरोध भयो प्रेस काउन्सिल नेपालको तर्फबाट चेतनाथ धमलाबाट। नेपालका साहित्यिक पत्रकारहरूको विशेष भेला हुने र उक्त गोष्ठीमा नेपालको साहित्यिक पत्रकारिताबारे कार्यपत्र प्रस्तुत गर्नुपर्ने जिम्मेवारी पनि मलाई नै बोकाए।

२०७५ फागुन १५ गते दाङमा जाने भइयो। मभन्दा ज्येष्ठ दाजुहरू नगेन्द्र दाइ र रोचक दाइ पनि जाने भनेकोले म पनि जान सुर कसेको हुँ। बिहान ६ बजे नै एउटा भ्यानमार्फत बनेपाबाट काठमाडौंतिर छिर्यौं। ७ बजे प्रेस काउन्सिलको प्राङ्गणमा सुबिन भाइले पुर्याइदियो। कोही आएका रहेनछन् क्यार ? प्रेस काउन्सिलभित्र छिर्यौं। केही क्षण कर्मचारीहरूसँग कुरा गर्दागर्दै छोरा प्रतीक घिमिरेसँग भएर रोचक घिमिरे आइपुगे। साथमा थिए वियोगी बुढाथोकी र रामप्रसाद पन्त।
म बनेपाबाट ठीक समयमा निस्केको रहेछु। केही क्षणपछि नै बनेपामा हिउँ बर्सेको रहेछ, खबर गरिन् भारतीले। साँच्चै हो रे छ, बनेपाबाट आइपुगेका ईश्वरी ओझा चढेको मोटर त हिउँमय भएर आएको ∕ ढिक्का–ढिक्का हिउँ बोकेर आएको मोटर निकालियो। गन्थन÷मन्थन गर्दागर्दै हाम्रो बस बल्ल ८ बजेतिर मात्र गुड्यो। बल्खु नपुग्दै नानीमैंया अधिकारी र गङ्गा सुवेदीलाई केही क्षण पख्र्यौं। उनीहरू आइपुगेपछि हामी हिँड्यौं। रमाइलो लाग्यो साहित्यिक पत्रकारहरूसँग घुम्ने मौका प्रेस काउन्सिलले जुराइदिएकोमा।

हामी काठमाडौं छोड्न तम्तयार भयौं। हामीसँग थिए काठमाडौंदेखि गाडी चढेर दाङ पुग्न खोज्ने साहित्यिक पत्रकारहरूमा नगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), रामप्रसाद पन्त (दायित्व), वियोगी बुढाथोकी (शिवपुरी सन्देश), तुलसीहरि कोइराला (गोरखापत्र), नवराज रिजाल (नव प्रज्ञापन), होमशङ्कर बाँस्तोला (अन्तर्बोध), गङ्गा सुवेदी (चेतना सन्देश), लक्ष्मी भट्टराई (शाल्मली), नरेशवीर शाक्य (नःलि), नानीमैयाँ अधिकारी (लोक भावना), चेतनाथ धमला (कौशिकी) र म (जनमत) थियौं। वीरबहादुर चन्द (गुगुल्डी) लाई दाङमा नै भेटघाट भयो। रातको १० बजेतिर मात्र हामीलाई हामी बस्ने होटेलभित्र छिराइदियो बसले। खाना खाइयो। कोठाभित्र गइयो। वियोगी बुढाथोकी मेरा रुम पार्टनर। रसिला ‘बियर–भक्त’ मित्र वियोगीसँग भिंग्रेली भिलेज रिसोर्टमा रात बिताइयो।

गर्मी चढी नसकेको बखत। लामखुट्टेहरू चलमलाउन शुरू नगरेको मौसम। दाङ ज्यास्ती गर्मी महसुस ठाउँ भएर पनि गर्मीलाई मन र तनमा बोक्नुपरेन। खुशी लाग्यो। रात बिताइयो मज्जाले। बिहान चिया पिउन रेष्टुराँमा झर्यौं। चिया पिइसकेपछि एकछिन् घोराही घुम्न निस्क्यौं। बसमा लगाएर गएको ज्याकेट त्यति सुकिलो र गतिलो नदेखिएकोले एउटा ज्वारीकोट किन्ने रहर भयो। दाङको बजारमा घन्टौं वियोगी बुढाथोकी, पोखराका एकजना मित्र र म घुम्यौं। बल्लतल्ल एउटा पसलमा मलाई ठिक्कको ज्वारीकोट रहेछ, मूल्य सोधें, १५०० भने। लगाइयो। कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो मैले, उक्त ज्वारीकोटले नै मेरो इज्जत जोगाइदिने भयो।

हामी कार्यक्रमस्थलनिर पुग्दा कार्यक्रम शुरू भइसकेको रहेछ। प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठको सभाध्यक्षतामा शुरू भएको उक्त कार्यक्रमको समुद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले संयुक्तरूपमा गरे। उक्त कार्यक्रममा लम्जेल सङ्घर्षशील ‘गुफाथुम्की गर्जन’ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक धरानबाट र सर्लाहीबाट अच्यु्त अधिकारी (गोलसिमल) साहित्यिक मासिकका तर्फबाट सहभागी थिए। दाङका पत्रकार, साहित्यिक पत्रकार र साहित्यिक मित्रहरूको उपस्थिति रहेको उक्त उद्घाटन सत्रमा दाङका नगरप्रमुख नरुलाल चौधरी पनि अतिथिका रूपमा उपस्थित थिए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले साहित्यिक पत्रकारहरूलाई ढाढस दिँदै बोले, ‘नेपाली पत्रकारिताको विकासका लागि साहित्यिक पत्रकारिताको विकास अनिवार्य हुनुपर्ने।’ नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारिताको अनुभव सुनाउँदै आफ्नो विचार राखे– ‘साहित्यिक पत्रकारिता क्षेत्र अहिलेसम्म उपेक्षित नै छ। दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार हुँदै आएको, दया होइन माया गरेर अधिकार दिनुपर्ने।’ अनावश्यक झन्झट थप्न खोज्ने सरकारको रवैयाप्रति व्यङ्ग्य गर्दै वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले आफ्नो विचार राख्दै बोले– ‘तीनजना कर्मचारी नियुक्ति गर्नुपर्ने, उनीहरूलाई बैंकमार्फत श्रमजीवी ऐनअन्तर्गत तोकेको रकम दिनुपर्ने, २ सय ठाउँमा साहित्यिक पत्रिका पुगेको प्रमाण देखाउनुपर्ने’ जस्ता अनावश्यक नियम लादेर सेवाभावले प्रकाशन भइराखेको साहित्यिक पत्रपत्रिकालार्ई छेकथुन गर्ने प्रपञ्च रचेजस्तो देखिएकोले सरकारले साहित्यिक पत्रकारितालाई अनावश्यक नियम लादेर भ्रममा राख्नु नहुने, निकासा खोलिदिनुपर्ने।’

यसै गरी प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठले उद्घाटन सत्रमा सभाध्यक्षका तर्फबाट आफ्नो विचार राख्दै भने– ‘प्रेस काउन्ससिल ‘गुरुहरूलाई दक्षिणा चढाउनुपर्छ’ भन्ने मान्यता राख्छ। साहित्यिक पत्रकारिता पत्रकारिताको मियो पत्रकारिता हो, राज्यबाट छुट्टै खालले संरक्षित गरिदिनुपर्छ। साहित्य व्यापक छ, प्रेमजस्तै, सङ्गीतजस्तै, सबैले रसास्वादन गर्ने विषय भएकोले सबैका लागि प्रिय स्वतः हुन्छ। पत्रकारहरूले जे पायो त्यो लेख्ने परम्परा छोड्नुपर्ने, भाषामा एकरूपता नभएकोले भाषामा एकरूपता ल्याउने वातावरण बनाउनुपर्ने, नकारात्मकतालाई मात्र देखाउने प्रवृत्ति रोक्नुपर्ने, स्वतन्त्रताको नाममा जे पनि लेख्ने पत्रकारिता देखेर दुःख लाग्छ।’ यी आदि खालका थुप्रै आचारसंहिताका कुराहरू सुनाएर उपस्थितहरू स्तब्ध बनाए र पहिलो सत्र टुङ्ग्याइयो।
दोस्रो सत्रमा डा. अमर गिरीले ‘दाङको साहित्यिक पत्रकारिता ः इतिहास’ प्रस्तुत गरेको उक्त कार्यक्रममा म मोहन दुवालले ‘नेपाल साहित्यिक पत्रकारिता ः सङ्क्षिप्त परिचय र समस्याहरू’ नामक कार्यपत्र प्रस्तुत गरें। कार्यपत्रमा साहित्यिक पत्रकारिताबारे परिचयमा लेखें– ‘सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो।

यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसक्नु आजको वास्तविक कथा र व्यथा हो।’ टिप्पणी गर्ने मित्रहरूमा टीकाराम उदासी, प्रा. नारायण नेपाल, निनु चापागाईं र वियोगी बुढाथोकी हुनुहुन्थ्यो। ईश्वरी ओझा र चेतनाथ धमलाले मन्तव्य र उद्घोषण गरेको उक्त गोष्ठीमा नरेशवीर शाक्य, प्रकाश सिलवाल, विपुल पोखरेल, नारायणप्रसाद शर्मा, तुलसीहरि कोइराला, गङ्गा सुवेदी, वीरबहादुर चन्दलगायतका साहित्यक पत्रकारहरूले आ–आफ्नो विचार प्रस्तुत गरे। कार्यक्रम सिद्धियो।

भोलिपल्ट बिहान घोराही छोड्ने भएकोले दाङ घोराहीका केही ठाउँहरू हाम्रै बसमार्फत घुम्यौं। थारुहरूको बाहुल्य रहेको नेपालकै ठूलो उपत्यकामा यसपल्ट पनि दुई दिन बिताउने मौका जुर्यो। साहित्यिक पत्रकारिताको सङ्गोष्ठी गरेर प्रेस काउन्सिल नेपालले साहित्यक पत्रकारहरूलाई भरोसा दिने काम गरेर अभिभावकत्व बोकजस्तो गरी कार्यक्रम गरेकोले धन्यवाद भनिरहेछु। वियोगीजीसँग रात बिताइयो, तकलिफ भएन। दाङको दुई दिनको बसाइ रोचक रह्यो। बिहान ५ बजे नै दाङलाई बिदाइ गर्यौं र हामी काठमाडौं हुइँकियौं।

प्रतिक्रिया दिनुहोस्